३९ वर्ष पुरानो जिल्ला कारागार भवन, दार्चुलामा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको छ । बिभिन्न मुद्दामा सजाय भोगिरहेका र कतिपयलाई पुर्पक्षमा राख्नु पर्दा कारागारभित्र कैदीबन्दीले पाउनु पर्ने आधारभूत अधिकारको समेत व्यवस्था तथा उपलब्धता गराउन नसकिएको कारागार प्रशासनले जनाएको छ ।
०४२ सालमा बनेको जिल्ला कारागारमा कैदीबन्दीहरुलाई कोचाकोच गरेर राख्ने गरिएको छ । ‘घ’ श्रेणीको जिल्ला कारागार १५ जना महिला सहित ४० जना क्षमताको हो । तर, अहिले ८५ जना कैदीबन्दीलाई राखिएको छ । जिल्ला कारागार, दार्चुलाका जेलर केशवराज अवस्थीका अनुसार कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । यस कारागारमा ५४ कैदी र ३० थुनुवा पुरुष छन् भने एक जना महिला थुनुवा छन् । कारागारमा जबरजस्तीकरणी मुद्दामा एक जना विदेशी कैदी छन् ।
कारागार भवन निकै दयनीय र जीर्ण छ । कोठा र शौचालय साँघुरा छन् । एउटै कोठामा कोचेर खाँदिएर बस्नुपरेको छ । टाँसिएर र अप्ठेरोसँग रात काट्नु पर्ने बाध्यता छ,’ एक जना कैदीले गुनासो गर्नु ुभयो, लामो समय पालो पर्खेर कैदीलाई शौचालय सुविधा मिल्छ । धेरै थुनुवा भएपछि अहिले सुत्न र शौचालयमा असुविधा भएको छ ।
कैदीबन्दी थपिने क्रम बढेपछि अहिले नै वैकल्पिक व्यवस्था मिलाउन सक्ने अवस्था छैन । कारागार प्रमुख जोशी भन्नुहुन्छ, थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको पैmसलाका कारण थुनुवा बढेका छन् ।
चिसो मौसम भएका कारण कैदीबन्दी अप्ठ्यारो गरेर सुतेकै छन्, उहाँले भन्नुभयो, गर्मीको समय भएको भए समस्या हुन्थ्यो । शौचालय अभाव भएको छ । चिसोले पानीको प्रयोग कम हुने हुँदा सहज भए पनि शौचालयको व्यवस्थापन गर्न सकिएको छैन् ।
कारागारमा कर्तव्य ज्यानका ११ कैदी र चार थुनुवा, जबरजस्तीकरणीका १७ कैदी र ६ थुनुवा, जबरजस्तीकरणी उद्योगका चार कैदी र दुई थुनुवा, लागुऔषध ओसारपसारका चार कैदी र दुई जना थुनुवा, सवारी ज्यानका दुई थुनुवा र दुई कैदी, अपहरण शरीर बन्धकका एक कैदी र एक थुनुवालगायतका अन्य घटनाका कैदीबन्दीले कारागार भरिभराउ भएको छ । जिल्लाबाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको जिल्ला कारागाराका प्रमुख जोशीले बताउनु भयो ।