जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा क्षमता भन्दा तेब्वर सङ्ख्यामा थुनुवा राखिँदा थुनुवाहरुलाई बस्नै समस्या भएको छ ।
महिला र पुरुष गरी जम्मा दुई ओटा कोठामा गरी नौ जनाको क्षमता भएको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा अहिले २३ जना पुरुष थुनुवा र एक जना महिला थुनुवा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा यौन दुर्व्यवहार मुद्दाका दुई जना, लागुपर्दाथ सेवन मुद्दाका पाँच जना, ज्यानमार्ने उद्योग मुद्दाका सात जना र अभद्र व्यवहार मुद्दाका १० जना छन् ।
थुनुवाको सङ्ख्या धेरै भएकाले राख्न समस्या भएको र हिरासत कक्ष नजिकै रहेको बाल निगरानी कक्षमा समेत वयष्क थुनुवाहरु राख्नुपर्ने बाध्यता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।
बस्ने ठाउँ नहुँदा कोचाकोच गरी बस्नु पर्दा निकै ठूलो समस्या भएको थुनुवा जीवन गेलाङले बताउनु भयो । मुस्किलले नौ जनाको क्षमता भएको हिरासत कक्षमा २३ जना पुरुष बस्नु पर्दा धेरै नै सकस भएको थुनुवा गेलाङको भनाइ छ ।
जिल्लामा रहेको अरु इलाका प्रहरी कार्यालयहरुको हिरासत कक्ष भन्दा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष अत्यन्त साँघुरो भएकाले कार्यालय सञ्चालनको लागि समेत गरी दुइ तले नयाँ भवन निर्माणको लागि बागमती प्रदेश सरकारको भौतिक तथा पुर्वाधार विकास मन्त्रालयमा माग गरी पठाएको भएपनि हाल सम्म बजेट योजना तर्जुमा नभएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताउनु भयो ।