
गरुडा नगरपालिका-४ स्थित श्री नमूना माध्यमिक विद्यालय, बौरियाका शिक्षक शिव शङ्खर झाको सरुवा गराएको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरू आक्रोशित भइ ०८१ पुस ११ गते विरोध प्रदर्शन गर्नुका साथै नगरपालिकाको भवन र गाडी तोडफोड गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूको ढुङ्गा प्रहारबाट नगरपालिकाको सरकारी र निजि गरी दुई ओटा गाडीको सिसा, नगरपालिकाको भवनको नौ ओटा झ्यालको सिसा फुटेको सिसि क्यामरा फुटेजमा देखिएको नगरप्रमुख कन्थमणि जैसवालले बताउनुभयो । प्रदर्शनकारी विद्यार्थीहरूले नगरपालिकामा सेव लिन आउनुभएका सेवाग्राही र कर्मचारीको गरी १६ ओटा मोटरसाइकलमा क्षति पुर्याएको नगरप्रमुख जैसवालले बताउनुभयो ।
शिक्षक शिव शङ्कर झालाई ०८१ असोज ४ गतेको नगरपालिकाको शिक्षा शाखा प्रमुख सरोज कुमार गौतम र नगर प्रमुख कन्थमणि जैसवाल लगायतको निर्णयले माध्यमिक विद्यालय महमद्पुर गरुडा सरुवा गरिएकोमा सो निर्णयलाई बेवास्ता गरी झा श्री नमूना माध्यमिक विद्यालय गरुडामा अध्यापन गराउँदै आउनु भएको थियो । नगरपालिकाको निर्णयलाई बेवास्ता गरेको भन्दै नगरपालिकाले शिक्षक झा को तलब रोक्क गरेको नगर शिक्षा शाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो ।
तलब रोक्का भएपछि पुस १२ गतेदेखि माध्यमिक विद्यालय महमद्पुर गरुडामा हाजिर हुन भनि पुस ११ गते शिक्षक झा नगर शिक्षा शाखा रमाना पत्र लिन जानुभएको थियो । तर, श्री नमूना माध्यमिक विद्यालय, गरुडाका प्रधानाध्यापक प्रभु पटेल र विद्यार्थीहरूले शिक्षक सरुवाको विरोधमा नारा जुलुस तथा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा विद्यार्थीहरूले ढुङ्गा मुढा प्रहार गरेका थिए । जसबाट नगरपालिकाको भौतिक संरचनामा क्षति पुगेको थियो ।
ढुङ्गा मुढा प्रहारबाट नगरपालिकाको भवनको नौ ओटा झ्यालको सीसा, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको सिसा फुटेको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादव जानकारी दिनुभयो ।
विद्यार्थीहरूको भिड तथा प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनको क्रममा भौतिक संसचनामा क्षति भए तापनि कुनै प्रकारको मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्किले बताउनुभयो । 