सिम्ता गाउँपालिका–२ का ३५ वर्षीय वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीलाई तीन जना कर्मचारीले ०८१ मङ्सिर ३० गते कुटपिट गरेको आरोप छ । सिम्ता गाउँपालिका–४, फुर्केसल्लीमा वडा अध्यक्ष सिँहमाथि सिम्ता गाउँपालिकाका प्राविधिक ३३ वर्षीया घनश्याम बस्नेत, रोजगार सहसंयोजक ३१ वर्षीय डिकेन्द्र केसी र जेसिवी चालक ४१ वर्षीय कमल हमालले कुटपिट गरेको वडा अध्यक्ष सिँहको आरोप छ । उहाँले आर्थिक लेनदेनको विषयलाई लिएर हेलमेट र ढुङ्गामुढा प्रहार गरेको बताउनु भयो ।

‘मलाई भेट्न बोलाएर हेलमेट, ढुङ्गामुढा र हातले कुटपिट गरे । मेरो दाँत र मुखमा चोट लागेको छ । सोही दिन उपचार गरेर अली सञ्चो भएको छ’ – वडा अध्यक्ष ठकुरीले भन्नुभयो । यता आरोपित घनश्याम बस्नेतले आफैलाई वडा अध्यक्ष सिँहले उल्टो हातपात गरेको आरोप लगाउनुभयो । ‘मेरो धेरै रकम ल्याउनु थियो । बारम्बार माग्दा पनि उहाँले दिनुभएन । सधैँ दिन्छु भनेर बहाना मात्रै गर्नुभयो । उल्टै उहाँले मलाई कुट्नुभयो’ – बस्नेतले भन्नुभयो ।
वडा अध्यक्ष ठकुरीले आफूमाथि कर्मचारीले कुटपिट गरेको भन्दै पुस १ गते आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, छिन्चुका इन्स्पेक्टर पदम खत्रीले बताउनु भयो । घटनाको मुचुल्का सकिएपछि जिल्ला अदालतबाट गिरफ्तारको अनुमति ल्याएर प्रक्रिया अगाडि बढाइने प्रमुख खत्रीले जानकारी दिनुभयो ।