खाँडादेवी गाउँपालिका–४ को पुछिघाटका स्थानीय र विद्यार्थीहरू सुनकोशीले भत्काएर क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलमा झुण्डिएर सुनकोशी नदी वारपार गरिरहेका छन् ।
गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याएपछि खेतीपाती, बजार, स्कुल र अस्पताल जाने पुछिघाटका ८५ घर परिवार जोखिम मोलेर सुनकोशी वारपार गरिरहेका छन् ।
यसरी यात्रा गर्दा कुनै पनि बेला दुर्घटना हुने जोखिम बढेको खाँडादेवी गाउँपालिका–४ का वडा सदस्य भीमबहादुर बस्नेत बताउनु हुन्छ । वडा कार्यालयले सो पुल जोखिमपूर्ण रहेकोले वारपार नगर्न स्थानीयलाई अनुरोध समेत गरेको छ ।
स्थानीय भरत माझीका अनुसार यसरी पुल तर्दा स्थानीयलाई निक्कै जोखिम छ । तर, झुण्डिएरै नदी तर्नुपर्ने बाध्यता छ ।

नदीले पुलमा क्षति पुर्याएपछि स्थानीय माझी समुदायले डुङ्गा राखेका छन् । गृह मन्त्रालयले गाउँपालिकामार्फत एउटा र्याफ्टिङ पनि दिएको छ । तर, ती साधन चाहिएको बेलामा चलाउने मान्छे नहुने भएकोले स्थानीय जोखिम मोलेरै सुनकोशी नदी वारपार गरिरहेका छन् ।
सो पुलबाट सबैभन्दा बढी जोखिमपूर्ण यात्रा गर्ने विद्यार्थीहरू छन् । गाउँमा विद्यालय नभएको कारण कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने सो गाउँका विद्यार्थीहरू सिन्धुलीको खाल्टे र चैनपुर जानुपर्छ । सो गाउँबाट २० जना भन्दा बढी विद्यार्थी पढ्न आउजाउ गर्दा सोही जोखिमपूर्ण पुल नै तर्ने गर्दछन् ।
सो पुल कहिले मर्मत हुने हो कुनै निश्चित छैन । सुनकोशी नदीको बाढीले खाँडादेवी गाउँपालिकामा मात्रै दुई ओटा झोलुङ्गे पुल बगाएको छ भने दुई ओटामा क्षति पुर्याएको छ । पुल बनाउने काम स्थानीय सरकारले गर्न नसक्ने भएका कारण केन्द्र सरकारकै भर पर्नु पर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउनु हुन्छ ।