बडिमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महतमाथि अज्ञात समूहले मङ्सिर २ गते आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्कने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो ।
महतका अनुसार तीन जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । कुटपिटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ ।
जिल्ला अस्पतालमा उपचार गराइरहेका महतले नेपाली काङ्ग्रेसका कार्यकर्ताले योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप लगाए । महत एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । दुई जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतको भनाई छ ।
महतले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको पत्ता लागे सार्वजनिक मुद्दा दर्ता गर्ने घाइते महतले तयारी गरेका छन् ।