०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटी जिल्ला पुर्विचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि सम्पन्न भएको उपनिर्वाचनको परिणामका बारे इन्सेक प्रतिनिधिहरुले पठाउनु भएका सूचना यस प्रकार छन् ।
इन्सेक दार्चुला रेन्द्रप्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका ५४ वर्षीय धनबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका ५१ वर्षीय मानसिह बडाललाई १८ मतले पराजीत गर्दै काग्रेसका कुँवर विजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका कुँवरले ३ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बडालले ३ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनु भयो । यसैगरी नेकपा (माओवादी केन्द्र) का ५२ वर्षीय वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन् । निर्वाचनमा २० मत बदर भएको छ । उपनिर्वाचनमा कूल १ हजार २ सय ७२ मतदाता मध्ये ८ सय ७७ अर्थात (६९.९४ प्रतिशत) मत खसेको थियो । दुर्गा आधारभूत विद्यालय गरमोराको (क) र (ख) मतदान केन्द्रमा मतदान भएको थियो । निर्वाचनमा पुरुष भन्दा महिला मतदाता सहभागिता बढि रह्यो । ६ सय २३ महिला र ६ सय ४९ पुरुष मतदाता रहेकोमा निर्वाचनमा ४ सय १ पुरुष र ४ सय ७६ महिलाले मतदान गरेका थिए । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको ०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको थियो ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकासबहादुर चन्दले एमाले उम्मेदरबार बहादुर चन्दलाई ६ सय २० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । कांग्रेसका उम्मेदवार चन्दले १ हजार १ सय ७ र एमाले उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरेका थिए । राप्रपाका सुनिल कुमार भट्टले ३ सय ६९ मत प्राप्त गरेका छन् । ०७९ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा विजयी हुनुभएका महेन्द्र खड्काको निधन भएपछि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामदत्त भट्टले २ सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५, नेकपा माओवादी केन्द्रका उम्मेदवार नानाराम ओलीले १ सय २२, राप्रपा नेपालका उम्मेदार दिलबहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १ सय २६, नेमकीपाका उम्मेदवार दलबहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले पाँच, स्वतन्त्र उम्मेदवार थानेश्वरप्रसाद लेकखकले १ सय ४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९ मत प्राप्त गरेका छन् । ५ हजार ४ सय २३ मतदाता रहेको उक्त वडामा २ हजार ९ सय ९१ मत खसेकोमा ५४ मत बदर भएको थियो । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले ०८१ मङ्सिर १६ गते रातिदेखि मत गणना सुरु गरिएको र सौहार्दपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार पुर्बिचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार थापाले खसेको मत ८ सय ३९ मध्ये ४ सय ६८ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उहाँका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार देब थापाले ३ सय १ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार देबिलाल थापाले २६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुँवरले ३१ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये १३ मत बदर भएको छ । ०७९ सालमा भएको निर्वाचनमा वडा नम्बर ६ मा वडाध्यक्षमा विजयी हुनुभएका पुष्पराज जोशीको निधनपछि सो वडामा उपनिर्वाचन भएको हो । पूर्व वडाध्यक्ष जोशी पनि नेपाली कांग्रेसबाट निर्वाचित हनुभएको थियो ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा १ सय ७० मतको मतान्तरले विजयी हुनुभएको छ । कांग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गनुभएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले १७ मत मात्रै प्राप्त गर्नुभएको छ । कुल १ हजार ५ सय ५४ मतदाता रहेको सो वडामा ०८१ मङ्सिर १६ गते भएको उपचिर्वाचनमा १ हजार १ सय ७८ मत खसेको थियो । १७ मत बदर भएका छन् । यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जनबहादुर बोहराले ६ सय २९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत प्राप्त गर्नुभएको थियो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार सुलोचना बुढा बिजयी भएकी छन । नेकपा एमालेकी उम्मेदवार बुढाले १ हजार ७ सय ४० मत ल्याएर विजयी भएकी छन भने उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार पुल्तिसरा शाहीले १ हजार ४ सय ७४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढा २ सय ६६ मतान्तरले विजयी भएकी हुन । एकिकृत्त समाजबादीकी उम्मेदवार जवा शाहीले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । ०७९ सालको स्थानीय तहको निर्वाचनमा १ सय ७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले यस पटकको उपनिर्वाचनमा विजयी हुनुभएको छ । ०७९ सालको निर्वाचनमा विजयी हुनुभएकी कांग्रेसकी उम्मेदवार मैनादेवी जैसीको निधन भएपछि उपनिर्वाचन भएको हो ।