INSEC Online

📅 २०८३ जेष्ठ २१

६२ प्रतिशत मतदानः निर्वाचन आयोग

रिक्त ४१ स्थानमा मङ्सिर १६ गते भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले मङ्सिर १६ गते साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका आयोगले जनाएको छ ।

काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको थियो । उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवार मैदानमा छन् ।

त्यस्तै, उपनिर्वाचनमा २५ ओटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये २० ओटा राजनीतिक दलबाट उम्मेदवारी परेको थियो । कैलाली र ओखलढुङ्गा जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली  कांग्रेसका उम्मेदवार टेकराज भट्टराई, टीका कुमारी चौधरी(भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुम(पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान कार्य सम्पन्न भएका स्थानबाट मतपेटिका सुरक्षित रुपमा सङ्कलन भएपछि तत्कालन मतगणना गरिने पनि आयोगले जनाएको छ ।

यसैबिच स्थानीय तह उपनिर्वाचन २०८१ को पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन मङ्सिर १६ गते नै निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

निर्वाचनको पूर्व तयारी र आम मतदाता तथा सरोकारवालाले सोचे जस्तै शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको इन्सेकका पर्यवेक्षकले जनाएका इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘निर्वाचन आयोगले पर्यवेक्षकका लागि गरिनुपर्ने व्यवहारका बारेमा सुरक्षा संयन्त्र र निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखीकरण गरेजस्तो अनुभव थिएन । आयोगले अभिमुखीकरण गरेको भए आगामी दिनमा यसमा थप प्रयास गर्नुपर्ने देखिन्छ । निर्वाचनलाई मर्यादित बनाउने आयोगको जिम्मेवारीमा पर्यवेक्षकले सहयोग र समर्थन गरेको बुझाइलाई एकरुपता बनाउनु आवश्यक छ ।’-प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ को दफा ३ मा निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । यो दफाको उपदफा १ मा सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ । तर, यो ऐन प्रारम्भ भएपछि हुने पहिलो पटकको निर्वाचनको हकमा दफा ४ बमोजिम तोकिएको मितिमा निर्वाचन हुनेछ भनिएको छ ।

त्यसैगरी उपदफा २ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवम् नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।

तर, एक वर्ष भन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन भन्ने व्यवस्था छ । यही व्यवस्था अन्तर्गत निर्वाचन आयोगले यो उपनिर्वाचन गरेको हो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार गोरखा नगरपालिका–५ मा भएको उपनिर्वाचनमा १ हजार ३ सय ७३ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटका अनुसार यो कुल मतदाताको ६१.७१ प्रतिशत हो । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको उहाँले बताउनुभयो । गोरखा–५ मा दुई मतदान स्थल र तीन मतदान केन्द्र रहेका थिए ।

गोरखकाली आधारभुत विद्यालयमा २ सय ५५ महिला र २ सय ३ पुरुष गरी ४ सय ५८ मत खसेको छ । शविशक्ति आधारभुत विद्यालय ‘क’ मा २ सय ४० महिला र २ सय २९ पुरुष गरी ४ सय ६९ मत खसेको छ । शिवशक्ति आधारभुत विद्यालय‘ख’ मा २ सय ६२ महिला र १ सय ८४ पुरुष गरी ४ सय ४६ मत खसेको छ ।

अन्य

भिडियो