कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा वडा अध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लाकाे सर्केगाडमा उपाध्यक्ष पदका लागि सञ्चालन भएकाे उपनिर्वाचनमा साझ ५ बजेसम्म ४ हजार ५ सय २३ जना मतदाताले मतदान गरेका छन् । जसमा २ हजार ३ सय २८ पुरुष र २ हजार १ सय ९५ महिलाले मतादान गरेकाे मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद अधिकारीले बताउनु भयो । उक्त गाउँपालिकाभरी सञ्चालन भएका १२ ओटा मतदान स्थल र १३ ओटा मतदान केन्द्र गरी हालसम्म ६६.४१ प्रतिशत मत खसेकाे अधिकृत बरालले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि २ सय ६८ जना प्रहरी परिचालन गरिएको थियो । उपनिर्वाचनमा जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा ६ हजार ८ सय १० मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिम रोकायाले जानकारी दिनुभएको थियो ।





इन्सेक डोल्पा जिल्ला प्रतिनिधि पुर्ण सार्कीका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा मतदान सम्पन्न भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सुरु भएको र ३ सय ३ मत खसेको छ । चिसोले गर्दा प्रतिनिधि र मतदाताहरू ढिलो मतदान स्थलमा पुगेपछि ७ बजेदेखि सुरु हुने मतदान प्रक्रिया समयमा सुरु हुन नसकेको उहाँको भनाइ छ ।
वडा अध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्वार बनेका छन् । एकिकृत समाजवादीबाट ज्वती घर्तीले उम्मेद्वारी दिए पनि उहाँले उम्मेद्वारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्वार घर्तीलाई सघाउने बताउनु भयो । उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको थियो ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो । यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिशप्रर्धा हुने देखिएको थियो । एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्वारलाई सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्वार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको थियो । अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदका लागि निर्वाचन सुरु भएको थियो ।

इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा २ सय १७ महिला र १ सय ९४ पुरुष गरी जम्मा ४ सय ११ मतपत्र खसेको छ । ६ सय ९ जना मतदाता रहेको सोही वडास्थित रहेको श्री कालिका माध्यामिक विद्यालय, राचुलि मतदान केन्द्रमा मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । बिहानदेखि शान्तिपूर्ण मतदान भइ सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी गराउनु भएको थियो । उहाँका अनुसार सर्वदलीय बैठकपछि आजै रातिबाट मत गणना गरिने छ ।



इन्सेक जाजकोट र रुकुम पश्चिम जिल्ला प्रतिनिधि बासुदेब शर्माका अनुसार नलगाड नगरपालिकाको उपप्रमुख कुशे गाउँपालिका-७ को वडा अध्यक्ष पदका लागि भएका उपनिर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको छ ।
उपनिर्वाचनमा आफ्नो उमेदवारलाई बिजय गराउन नेता कार्यकर्ता शुभचिन्तकले मतदातालाई मतदान केन्द्रमा ओसार पसार गरिहेका छन् । नलगाड नगरपालिका-८, गणेश प्राथमिक विद्यालय मालुवातरा मतदान केन्द्रमा सात जना क्रियापुत्रीले मतदान गरेका छन् । नलगाड नगरपालिकाका सबै मतदान केद्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नविनकुमार कठायतका अनुसार नलगाडन नगरपालिकामा करिव ५० प्रतिशत भन्दा बढी मत खसेको बताउनु भयो । नलगाड नगरपालिका-८, लुपानाका बुबा हरिमान खत्रीको काजक्रियामा बसेका छोराहरू अते खत्री, गोम, खिमे, टिकाराम बालबहादुर खत्रीका पाँच भाइ आमाको काजक्रियामा बसेकै अवस्थामा मतदान गर्नुभएको छ ।
एक भोटले पनि आफनो उम्मेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुबा गुमाएको पीडा भएपनि मतदान गर्न आएको आमाको काजक्रियामा बसेका महेन्द्र सिहले बताउनु भयो । मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत धर्मवहादुर बुढाका अनुसार बिहान चिसोका कारण मतदाता गर्न नआए पनि १० बजेबाट आउने क्रम जारी रहेको थियो । मतदान प्रक्रियालाई धाँधली रहित बनाउन नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेनाका तीन ओटै सुरक्षा निकाय परिचालन गरिएको थियो । साँझ ५ बजेसम्म मतदाताले डर त्रास र भयरहित तरिकाले मतदान गर्न पाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ छ । नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिहको गत वर्ष कात्तिक १७ गते भूकम्पम परि मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन भएको हो ।

त्यस्तै रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका-५ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, घापागाड मतदान केन्द्रमा बिहान ७ बजेर २५ मिनेटमा मतदान सुरु भएको थियो । मुख्य निर्वाचन कार्यालका सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाले सानीभेर गाउँपालिका-५ को वडा अध्यक्ष पदका लागि भएको मतदानमा ८० प्रतिशत मत खसेको बताउनु भयो ।
१ हजार ४ सय ३४ मतदाता मध्य १ हजार १ सय ४६ जनाको मत खसेको छ । दुई ओटा मतदान स्थलमा मध्ये ‘क’ केन्द्रमा ७ सय र ‘ख’ केन्द्रमा ७ सय ३४ मतदाता गरी कुल १ हजार ४ सय ३४ मतदाता रहेका छन् । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो । वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा माओवादी केन्द्रका तर्फबाट जसरिराम बस्नेत हुनुहुन्थ्यो । गत २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षमा निर्वाचित भएका अलबहादुर खत्रीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । सहायक निर्वाचन अधिकृत कोइरालाले आजै रातिबाट मतगणना सुरु हुने बताउनु भयो ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर बहादुर सुनारका अनुसार मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका १३ नं. वडाका वडाध्यक्ष पदको निर्वाचनमा ५४ प्रतिशतभन्दा बढी मत खसिसकेको अधिकारीहरूले बताएका छन् । महाबु गाउँपालिकाका ६ ओटै वडाका नौ स्थानमा रहेका १६ ओटा मतदान केन्द्रमा ६ हजार ८ सय ३७ मत अर्थात ५४.२० र दुल्लू नगरपालिका १३ का दुई स्थानका चार मतदान केन्द्रमा १ हजार ४ सय ७० मत अर्थात ५४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले जानकारी दिनुभयो ।
केही मतदाता लाइनमा बसेका र साँझ ५ बजेसम्म अझै केही मतदाताहरू मतदान केन्द्रमा आउनसक्ने सम्भावना भएकोले ५५ प्रतिशत मतदाताहरुको मतदानमा सहभागिता हुने आफूले अनुमान गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनु भयो । ‘६ हजार जनाको हाराहारी मात्र मत खस्ला भन्ने अनुमान थियो, बढी नै सहभागिता भयो’ – उहाँले भन्नुभयो । साथै जिल्लाका सबै स्थानमा मतदान सम्पन्न भएको छ ।







