आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई गौरीशङ्कर गाउँपालिका प्रवेशमा रोक लगाइएको छ ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर १३ गते रातिबाट मौन अवधि सुरु भएकाले गौरीशङ्कर गाउँपालिका बाहेकका मानिसहरुलाई पालिकाभित्र प्रवेशमा रोक लगाइएको हो । गौरीशंकर गाउँपालिकामा भित्रिने सीमा नाकाहरुबाट गाउँपालिका बाहेकका व्यक्तिहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले मङ्सिर १३ गते एक सूचना जारी गर्दै मध्यारति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि गाउँपालिका बाहेकका व्यक्तिहरुलाई गाउँपालिकाभित्र प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य स्थानीय तहका व्यक्तिहरुलाई गौरीशङ्कर गाउँपालिका प्रवेश गर्न रोक लगाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनु भयो ।
निर्वाचन प्रचार प्रसार तथा अन्य कार्यका लागि गौरीशङ्कर गाउँपालिकाभित्र भएका सो गाउँपालिका बाहेकका व्यक्तिहरुलाई मौन अवधि सुरु हुनु अगावै गाउँपालिकाबाट बाहिरिन पनि आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचनालाई अवज्ञा गरी निर्वाचन आचारसंहिता विपरितका कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
