महाकाली राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–४ गोठलापानी बजार नजिकै सडक छेउमा रहेको डम्पिङ साइडले वरीपरिको वातावरण प्रदुषित भएको छ । नगरपालिकाले बषौँदेखि सडक छेउमै फोहर जलाइरहेको छ जसका कारण राजमार्गमा यात्रा गर्नेहरुलाई समस्या भएको स्थानीय जगदीश कार्कीले गुनासो गर्नु भयो ।
०५४ सालमा स्थापना भएको नगरपालिकाले फोहर व्यवस्थापनका लागि अहिलेसम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्ष डम्पिङ साइड निर्माणलाई प्रथमिकतामा राखेको भए पनि कार्यान्वयन भने हुन सकेको छैन् ।
बजारबाट निस्केको फोहर सडक छेउमा व्यवस्थापन गर्दा सडक भएर आवतजावत गर्ने मानिसहरुले नाक थुन्नु पर्ने अवस्था रहेको स्थानीय जनक ठगुन्नाले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘जगन्नाथ बहुमुखी क्याम्पस नजिकै सडक छेउमा राख्ने गरिएको फोहरले आवतजावत गर्नेहरुले नाक थुनेर हिँड्नु पर्ने बाध्यता छ ।’

फोहरको वर्गीकरण समेत नगरेर सडक छेउमा फालिएको फोहरमा आगो लगाउने गरिएको छ । फोहर बालेपछि निस्कने धुँवाले झन् समस्या निम्त्याएको स्थानीयको गुनासो छ ।
नगरपालिका स्थापना भएको तीन दशक भए पनि फोहर समेत व्यवस्थापन नहुनु दुःखद पक्ष रहेको उद्योग वाणिज्य संघ, वैतडीका उपाध्यक्ष खीमानन्द भट्टले बताउनु भयो । संघीयतापछि नगरपालिकामा दुई सरकार बनिसकेका भए पनि फोहर व्यवस्थापनमा चुकेका छन् । उहाँले भन्नुभयो ‘फोहर व्यवस्थापन, नगर सरसफाइ स्थानीय सरकारको दायित्व हो । तर, त्यो दायित्वबाट नगर सरकार चुकेको छ ।’
फोहर व्यवस्थापनका लागि जमीन नपाउँदा समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ । डम्पिङ साइड निर्माणका लागि जमीन नपाउँदा समस्या भइरहेको नगरपालिकाका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताउनु भयो । डम्पिङ साइड निर्माणका लागि पटक–पटक जमीनको खोजी गरिरहेको भए पनि उपयुक्त जमीन नपाएको उहाँले बताउनु भयो । यसअघि डम्पिङ साइड निर्माणका लागि रानीबुंगा, साटीबिसौना र छेलामा जमीनको खोजी गरिएको भए पनि स्थानीयहरुको अवरोधका कारण काम अघि बढाउन नसकिएको उहाँको भनाइ छ ।
पछिल्लो समयमा नगरपालिकाको वडा नम्बर ६ स्थित धल्कोटमा डम्पिङ साइड निर्माणका लागि स्थानीयसँग कुरा भएको कार्कीले बताउनु भयो ।