INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँका ५५ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर

तनहुँका करिब ५५ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् । स्वास्थ्य बीमा बोर्ड तनहुँका अनुसार जिल्लाका ४५.३९ प्रतिशत जनता मात्र स्वास्थ्य बीमाको पहुँचमा आएका छन् ।

तनहुँका ३ लाख २१ हजार १ सय ५३ जना नागरिकमध्ये १ लाख ४५ हजार ७ सय ९८ जना नागरिक स्वास्थ्य बीमाको पहुँचमा रहेको स्वास्थ्य बीमा बोर्ड तनहुँकी संयोजक सिर्जना पोख्रेलले बताउनु भयो ।

त्यस्तै विपन्न नागरिकतर्फ २ हजार ५ सय ८९ घरपरिवार र साधारणतर्फ २४ हजार ८ सय ८६ घर परिवारको स्वास्थ्य बीमा भएको पोख्रेलले बताउनु भयो । त्यस्तै १९ हजार ९ सय ३३ जना ज्येष्ठ नागरिक र १ सय ८७ जना एचआईभी सङ्क्रमित, चार जना क्षयरोगी, ६ सय ५५ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ ।

जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध हुन सकेका छैनन् । सर्वसाधारणले प्रथम सेवा बिन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा प्रथम सेवा बिन्दुबाट सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् ।

तनहुँमा स्वास्थ्य बीमामा आवद्ध भएकालाई प्रथम सेवा बिन्दु ६ ओटा रहेका छन् । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र भानु, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र भिमाद, बन्दीपुर अस्पताल बन्दिपुर, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र शुक्लागन्डकी, दमौली अस्पताल दमौली र आँबुखैरेनी अस्पताल आबुँखैरेनीबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम लागु भएको हो ।

अन्य

भिडियो