नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामका कारण प्रदुषण फैलिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उद्योगबाट निस्किने धुलो, खरानी र खोलामा मिसाइएको फोहर पानीले गर्दा वरपर बस्न सक्ने अवस्था नरहेको भन्दै यसको नियन्त्रणको माग राखी स्थानीय आन्दोलित भएका हुन् ।
उद्योगबाट निस्किएको धुलो, खरानीका कारण समस्या भएको र यसको नियन्त्रणमा उद्योग प्रशासनले चासो नदेखाएको भन्दै मङ्सिर १० गते स्थानीयले उद्योगको मूल गेटमा तालाबन्दी गरेका छन् ।
स्थानीयले प्रदुषणका कारण वरपर बस्न सक्ने अवस्था नभएपछि केही दिन देखि वातावरण प्रदुषण नियन्त्रण सङ्घर्ष समिति गठन गरी स्थानीयले नियमित रुपमा उद्योग परिसरमा धर्ना दिदैँ आएका छन् ।

उनीहरूले उद्योगले सञ्चालन गर्दै आएको भुसे ब्वायलर सञ्चालनको काम रोकेर मर्मत गर्नुपर्ने, पुरानो ब्वायलर हटाएर नयाँ राख्नुपर्ने, बस्तीको नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, उद्योगको पानी प्रशोधन गरेर मात्र खोलामा पठाउनुपर्ने लगायतका माग राखेका छन् ।
उद्योगबाट निस्किने धुलो, खरानीका कारण वरपर बस्न सक्ने अवस्था नै नभएपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको वातावरण प्रदुषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माले बताउनु भयो । उद्योगबाट निस्कने धुलो, खरानीले करेसाबारी देखि भान्सासम्म असर पुगेको उहाँले बताउनुभयो ।
‘धुलोले जे तरकारी लगाएपछि ढाकेर केही हुन दिन्नँ । भान्सा होस वा विस्तार सबै तिर खरानी पुगेको हुन्छ, कपडा धोएर बाहिर सुकाउन पाउँदैनौ सबै कालो हुन्छ । हामी वरपरका स्थानीय सारै पीडित भयौं तर उद्योगले हाम्रो समस्या नजरअन्दाज गरेको छ ।’-संयोजक शर्माले भन्नु भयो ।
उद्योग सञ्चालन गर्ने विषयमा आफूहरू सकारात्मक रहेको तर उद्योगले स्थानीयलाई पारेको प्रभावका विषयमा ख्याल गर्नुपर्ने उद्योग रहेको देवचुली नगरपालिका–२, का वडा अध्यक्ष शरदप्रसाद घिमिरेले बताउनु भयो । उद्योगले प्रदुषण नियन्त्रणका उपाय अपनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

उद्योगले इन्धनका लागि प्रयोग गरेका भुसको ब्वायलरले धुलो र खरानीको समस्या निम्ताएको र अर्कातर्फ उद्योगको ढल बिना प्रशोधन खोलामा मिसाउँदा दुर्गन्धले थप समस्या निम्त्याएको स्थानीय एवम् जिल्ला समन्वय समिति सदस्य सरू पाठकले बताउनु भयो । उद्योगले प्रदुषण नियन्त्रणका सवालमा केही काम नगर्दा समस्या जटिल बनेको उहाँले बताउनु भयो ।
उद्योग प्रशासनलाई पटकपटक प्रदुषण नियन्त्रणका लागि ताकेता गर्दा समेत व्यवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको र उद्योगमा ताला बन्दी गर्नुपरेको जिसस सदस्य पाठकले बताउनु भयो ।
उद्योगले स्थानीयले भोग्दै आएको प्रदुषणको समस्याको दीर्घकालीन समाधानका लागि पहल नगरे आफूहरू निरन्तर आन्दोलनमा उत्रिने सङ्घर्ष समितिका संयोजक शर्माले बताउनु भयो ।
यसअघि पनि आफ्नो समस्याका विषयमा ध्यानाकर्षण गराउँदा पनि धुलो, खरानी नियन्त्रणका लागि आफ्नो उपकरण मर्मत गर्ने लगायतका काममा उद्योग प्रशासनले बेवास्ता गरेपछि थप कार्यक्रम स्वरुप उद्योगमा तालाबन्दी गर्नुपरेको उहाँले बताउनु भयो ।
