स्थानीय तहको उपनिर्वाचनमा भाग लिएका जिल्लाका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको छ ।
मङ्सिर १६ गते तोकिएको गढी गाउँपालिका वडा नम्बर ६ को उपनिर्वाचनमा अधिकांश राजनीतिक दलले निर्वाचन आचार संहिता २०७९ विपरित चुनाव प्रचार–प्रसार गरिरहेको इन्सेकको अनुगमनको क्रममा देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरूले निर्वाचन आचार संहिता विपरित निजी घरजग्गा, सार्वजनिक भवन, वडा प्रवेशद्वार र सडकका पोलमा दलको झण्डा, उम्मेदवारको चुनाव चिह्न, तोरण जस्ता प्रचार सामग्री टाँसेका र झुण्ड्याएका छन् ।
निर्वाचनका क्रममा आमसभा गरेको स्थल बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न बन्देज गरिएकोमा उनीहरूले तीन पाङ्ग्रे, चारपाङ्ग्रे गाडीहरूमा चर्को ध्वनीको डिजेबाट मत माग्नुका साथै प्रचारप्रसारका लागि घरदैलौ कार्यक्रममा जाँदा २५ भन्दा बढीको जुलुस लिएर सहभागी बनेको देखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर ८ गते मात्र आचार संहिता कार्यान्वयनका लागि राखेको छलफलमा उम्मेदवारी दिएका राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारले निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले दलहरू तथा उम्मेदवारहरूले मतगणनाको अवधिसम्म निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार जिल्लाको एक मात्र वडामा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचार संहिता उल्लङ्घन बढेको गुनासो आएपछि सर्वपक्षीय छलफल पश्चात सबैले आचार संहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
तर, दलहरुले आचार संहिताले तोकेको मापदण्ड उल्लङ्घन गर्दै प्रचारप्रसार गर्दै आएका छन् । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरू जिम्मेवार बन्नुपर्ने र निर्वाचन आचार संहिता पालनामा निर्वाचन आयोग र आचार संहिता अनुगमनकर्ताले नियमन गर्नुपर्ने गैसस महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले बताउनु भयाे।





