स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारका क्रममा १० ओटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न, प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न, श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने, दश दश वटासम्म झण्डा र चुनाव चिन्ह्भन्दा बढी प्रयोग गर्न नपाइने निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भयो।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २५ १ मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्या भन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गराउनु हुँदैन भन्ने प्रावधान छ ।
यही मङ्सिर १६ गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न यही मङ्सिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ। उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरेको छ।