स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा सात जना र दुल्लू नगरपालिका १३ नं. वडाको वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । साँझ ५ बजेसम्म समय तोकिएकोले उम्मेदवारी दर्ता खुला राखिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनु भयो ।

महाबु गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि नेपाली कांग्रेसका झलकबहादुर भण्डारी, नेकपा एमालेका जङ्गबहादुर शाही, नेकपा माओवादी केन्द्रका जङ्गबहादुर बराल, रास्वपाका प्रकाशकुमार बुढा, नेकपा एसका जगतबहादुर हमाल, राप्रपाका सूर्यबहादुर रावल र नेमकिपाका दुर्गबहादुर मगरको उम्मेदवारी दर्ता भएको छ ।
दुल्लू नगरपालिका १३ नं. वडाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसका रेशमबहादुर शाही, नेकपा एमालेका लालबहादुर शाही, नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाही, रास्वपाका रामबहादुर शाही, राप्रपाका रेशमकुमार मल्ल र नेमकिपाका पूर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ ।
