INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह उपनिर्वाचन ०८१- मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

देशभरसहित कोशी प्रदेशमा रिक्त रहेका स्थानीय तहमा ०८१ मङ्सिर १६ गते निर्वाचन प्रयोजनाका लागि ०८१ कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोगले देशभर ३२ ओटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ ओटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन आयोगले चुनावी कार्यक्रम अघि बढाएको छ । मङ्सिर २ गते मनोनयन दर्ता हुनेछ ।

स्थानीय तहको उपनिर्वाचन, २०८१ मा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा २ बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

कोशी प्रदेशका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ओखलढुङ्गामा जिल्ला समन्वय समिति प्रमुखका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार ग्रामथान गाउँपालिकामा कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले ग्रामथानको तेतरियामा निर्वाचन कार्यालयको उद्घाटन गर्नु भएको छ । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफल गर्नु भएको छ । निर्वाचनमा भाग लिने सबै दल सहभागी छलफलमा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने मुख्य निर्वाचन अधिकृत भट्टराईले बताउनु भयो । निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ । उम्मेदवारी दर्ता बिहान १० बजेबाट सुरु हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दंगालले निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक विषयका जानकारी गराउनु भएको छ । ग्रामथान गाउँपालिका सात ओटा वडा छन् । २६ हजार ४४ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । ०७९ को निर्वाचनबाट ग्रामथानको अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको ०८१ असार ३ गते निधन भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

photo 2024115 morang (3)

photo 2024115 morang (1)

photo 2024115 morang (2)

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगुराँस नगरपालिका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नु भएको छ ।

photo 2024115 terthum

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा मङ्सिर ३० गते निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठले कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृतका रूपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नु भएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा सिरिजङ्गा गाउँपालिका ३ मा वडाध्यक्षमा पदमा निर्वाचित दिलप्रसाद बोखिम ०८१ असोज १८ गते राजिनामा दिएर ०८१ कात्तिक २४ गते वैदेशिक रोजगारीमा गएपछि रिक्त भएको वडाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार ०८१ मङ्सिर १६ गते कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कन्काई नगरपालिका-६ को वडा कार्यालयको पहिलो तलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला अदालतका न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।

photo 20241115 Jhapa

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार आगामी ०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कात्तिक ३० गते गढी गाउँपालिका-६  वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचन हुने स्थानीय तह गढी-६  वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय, सुनसरीले जनाएको छ । उपनिर्वाचन हुने गढी गाउँपालिका-६ वडामा  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णप्रसाद दाहालले बताउनु भयो । जिल्ला अदालतका मुख्य न्यायाधीश मुकेश उपाध्यायको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो । गढी गाउँपालिका-६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मङ्सिर २ गते मनोनय दर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख पदका लागि हुने निर्वाचन प्रयोजनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरिएको छ । मोलुङ गाउँपालिका-५ को प्राप्चामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गिरीराज गौतम र निर्वाचन अधिकृतमा निमित्त जिल्ला निर्वाचन अधिकारी बिदुर बस्नेत रहनु भएको छ । जिल्ला समन्वय समिति पदको प्रमुखका लागि ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचन ०८१ मा आठ ओटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी १६ जना मतदाता दिनु हुनेछ ।

photo 202401115 okhaldhunga (2)

photo 202401115 okhaldhunga (1)

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार त्रियुगा नगरपालिका-१२ वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृत र बेलका नगरपालिका-९ को वडा कार्यालयमा कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि  दुइ ओटै वडामा कार्यालय स्थापना गरिएको हो । त्रियुगामा न्याय परिषदबाट जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपककुमार खरेललाई मुख्य निर्वाचन अधिकृत र बेलकामा न्याय सेवा आयोगबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्तालाई तोकिएको छ । कात्तिक ३० गते कार्यालय स्थापना गरी काम सुचारु गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत दीपक दहालले बताउनु भयो । निर्वाचन आयोगले मङ्सिर २ गतेदेखि १६ गतेसम्मको चुनावी कार्यतालिका तोके अनुसार उम्मेदवारको मनोनयनपत्र दर्तादेखि मतदानसम्मको समय निर्धारण गरिएको छ । मङ्सिर २ गते विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । दर्ता भएका मनोनयनपत्रको सोही दिन ५ बजेदेखि ६ बजेसम्म विवरण प्रकाशन गरिनेछ । गत ०७९ मा सम्पन्न स्थानीयतह निर्वाचनमा विजयी वडाध्यक्षहरु त्रियुगा नगरपालिका १२ का चुडाराज काफ्ले र बेलका ९ का वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

photo 20241115 udayapur

 

अन्य

भिडियो