जिल्ला अस्पताल, अछामको भवन जीर्ण अवस्थामा हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । ५० वर्षअघि निर्माण गरिएको अस्पताल भवनमा जीर्ण हुँदा शल्यक्रिया, उपचार, बिरामी भर्ना र आपतकालीन कक्षलगायतका सबैजसो ठाउँमा पानी चुहिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर बोगटीले बताउनु भयो । १५ सैय्याको जिल्ला अस्पतालमा बिरामीको चापका कारण अस्तालले ३५ सैय्या थपेपनि स्थानको अभावमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न नसकिएको बोगटीले बताउनु भयो ।
अस्पतालमा आएका बिरामीलाई सेवा दिन खरिद गरिएका स्वास्थ्य सामग्री समेत भवन अभावमा थन्किाइएका छन् । अस्पतालाका लागि ल्याइएका आइसियु, आइसियु बेड लगायतका सामग्री किनेर अलपत्र रहेका छन् । अस्पताल भवन जीर्ण अवस्थामा हुँदा बिरामी, बिरामीका कुरुवालाई मात्रै नभएर अस्पतालले दिने सेवा समेत प्रभावित भएको छ ।
ओपिडीमा आएका बिरामीलाई जाँच्ने ठाउँ अभावले गर्दा एउटा सानो कोठामा तीन जना डाक्टर कोचिएर बसेर बिरामी जाँच्नु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल, अछामका मेडिकल अधिकृत डाक्टर कृष्णबहादुर सोडारीले बताउनु भयो ।
आकस्मिक तथा प्रसूति सेवा र ओपिडी सेवा प्रवाह गरिने अस्पताल भवन जीर्ण अवस्थामा रहेका कारण वर्षातको पानी कर्कटपाताबाट चुहिएर सेवा प्रभावित हुने गरेको छ । जिल्ला अस्पतालमा बिरामीलाई नै बस्नका लागि ठाउँ हुँदैन, कुरुवा नै बिरामी पर्लान जस्तो हुन्छ । अस्पतालमा बिरामी कुरुवा भएर फर्केका मंगलसेन नगरपालिका–५ का नन्दराज ढुंगानाले बताउनु भयो ।
अस्तालसम्बद्ध पक्षको पहलको अभावमा भवन लगायतका संरचना निर्माण हुन नसकेको स्थानीयको आरोप छ ।