INSEC Online

📅 २०८३ जेष्ठ २१

‘सिलाबाला’ ले प्राण धान्दै हरिसरा !

सिस्ने खोलाको सिरेठो र सित । खोला तिरमै बास । ६६ वर्षीया हरिसरा बुढालाई विहान ६ नबज्दै मेलो पुग्ने हतारो हुन्छ । हिजो आज खेतमा सित नसुक्दै पुग्नुपर्ने उहाँको दैनिकी छ । हुस्सु र सीतसँगै खेतमा पुग्ने हरिसरा घर फर्किन भने कम्तीमा दिउसोको दुई बज्नुपर्छ । भोकभोकै दिनभरी खेतमा डुल्ने हरिसरा आफ्नो खेतको मेलो मार्न होइन अर्काको खेतमा खसेका धानका बाला खोज्न दौडधुप गर्नुहुन्छ ।

सम्पतिको नाममा ठाउँ ठाउँ भ्वाङ परेको टिनको छानो, कतै इटा, कतै माटोको गारोले जोडिएको एउटा झुपडी छ । बुढो शरीरलाई ओत र आराम दिने त्यही बुकुरो हरिसरालाई काफी भएपनि चिन्ता खाने गासको धेरै छ । त्यही गास जुटाउन हरेक दिन हरिसरा हुस्सु र सितमै धानका बाला खोज्न अर्काको खेत–खेतमा पुग्नुहुन्छ । घोराही उपमहानगरपालिका–१७, वेलभारस्थित सिस्नेखोला पुल मुनि झण्डै एक दशकदेखि बस्दै आउनु भएकी हरिसरा खेतमा खसेका, मुसाले दुलोमा राखेका, बाटोमा खसेका धानका बाला र खलियानमा छुटेका विया टिपेर गुजारा गर्दै आउनु भएको छ ।

हरेक वर्ष असोजदेखि माघसम्म हरिसराको दैनिकी खेत, खलियान चाहार्दै बित्छ । पाँच महिना खेत चाहारेर ल्याएका सिलाबालाले हरिसरालाई तीन महिनाको गास टर्छ । यसपाली असोज, कात्तिकमा उहाँले सिमेन्टको दुई बोरा धान सङ्कलन गरिसक्नु भएको छ । हरिसराले भन्नुभयो – ‘सिलाबाला खोज्दै गर्दा कसैले दया गरेर एक दुई मुठी अरु थप्दिन्छन् । अहिलेसम्म दुई कट्टा बनाएको छु । दुई तीन बोरा खेरखार गर्न सके दुई/चार महिनालाई माड खान पुग्थ्यो । दुई/चार महिना भोक टार्नु मलाई त धेरै हो ।’

हातमा प्लाष्टिक झोला, मुसाको दुलो खन्नका लागि चप्पल बोकेर विहानै खेत, खेत चाहार्ने हरिसराको दिनचर्या लगभग हिउँद भरी चल्छ । असोज, कात्तिक र मङ्सिरमा खेतमा खसेका बाला टिप्ने, मुसाका दुला खनेर धान निकाल्ने र पुस, माघसम्म खलियानमा विया टिप्ने मेलो छ हरिसराको । खेतका सिलाबाला जस्तै मुसाले दुलोमा राखेको धान खनेर निकाल्दा पनि राम्रो धान पाइने हरिसरा बताउनुहुन्छ । विहान सितमा खेत पुग्दा धानका बाला सितले टल्कीने र बटुल्न सहज हुने उहाँको अनुभव छ । हरिसराले भन्नुभयो – ‘दिउँसो धानका बोट र बाला सुकेर उस्तै उस्तै देखिँदा छुट्ने भएकाले विहानै सीतमा खेत पुग्छु । के गर्नु अरु खाने केही छैन । पेट पाल्न चिसो नभनी जान्छु । चोरेर पो ल्याउन भएन । खोजेर खान के लाज मान्ने हो र ?’

सिला खोजेर ल्याएको बाहेक हरिसराको घरमा अरु केही अन्नको गेडो छैन । बरु कहिलेकाहीँ छरछिमेकले मानो, मुठी दिन्छन् तर बुढेसकालमा रेखदेख गर्नेहरूले फर्कि हेर्दैनन् । १० वर्ष अघि जस्तै पति डम्मर बुढाको निधन भयो । तर एकिन छैन, समय कति भयो भन्ने हरिसरालाई । चार छोरा र दुई छोरी त अहिले पनि छन् हरिसराका तर कसैले हेर्दैनन् । तीन छोरा, एक छोरी पोखरामा छन् । तर के गर्छन्, कहाँ बस्छन् हरिसरालाई थाहै छैन । उनीहरू बेखवर जस्तै छन् । घोराहीमै एउटा छोरा छन् । उनी पनि अलग्गै बस्छन् भने एउटी छोरी सल्यानमा छिन् । उनले आटो पिठो सकेको बेला पठाइदिन्छिन् । तर त्यसले सधैँ चुल्हो बल्दैन ।

हरिसराले वर्षमा अरु सात/आठ महिना अरुको भाडा माझेर, घर पोतेर तथा झाडी सफाईको काम गरेर गुजारा गर्नुहुन्छ । खाना दिन्छन्, भाडा माझेको ५०/६० रुपियाँ दिन्छन् । घर लिप्ने, सरसफाई गर्ने काम हुँदा दिनको दुई सयसम्म पाउने गरेको उहाँले बताउनु भयो । हरिसराले भन्नुभयो – ‘के गर्नु कोही छैनन् भनु छोरा छोरी छन् भएका सन्तानलाई छैनन कसरी भनु, तर आफूसँग कोही छैनन् हात, खुट्टा चल्दासम्म काम गरेर खान्छु त्यसपछि जस्तो होला होला ।’

सुरक्षा छैन

सिस्नेखोलाको छेउमा बस्न थालेको वर्षौं भयो । घोराही–लमही सडक भएकाले गाडीको आउजाउ त छ । तर पानी बगेको आवाजले समस्या पर्दा हारगुहार गरेपनि छिमेकीले सुन्ने अवस्था छैन । ५ सय मिटर आसपास छिमेकी छैनन् । खोला पारि गोग्ली बजार पनि टाढै छ । सुरक्षाको हिसावले हरिसरा जोखिममा हुनुहुन्छ । त्यस्तै घटना ०८१ जेठ ८ गते राती हरिसराले व्यहोर्नुपर्‍यो । घोराहीको एक कवार्ड व्यवसायीले राति आक्रमण गरी घाइते बनायो । उपचारपछि हरिसरा दैनिक काममा लाग्नुभएको छ । उक्त घटनापछि आफूले बनाएको झुपडीमा असुरक्षाकै कारण हरिसराको बास बसाई छैन । छरछिमेकले सुत्न दिएका छन् । तर कतिपयले साग खाने ठाउँमै मुर्दा गाडिदिने, गाजा चरेश खाने मान्छेहरू आउने गरेकाले असुरक्षा बढेको हरिसराले बताउनु भयो । हरिसराले भन्नुभयो – ‘साग रोपेर बेच्नुपर्ला, नुन तेल खाने होला भनेर घर छेउमै खन्न जाँदा बच्चाको शव गाडिएको भेटियो । मान्छेका लाश मैले साग रोप्ने ठाउँमा किन गाडी दिनु ? समस्यै समस्या छ । गाँजा खाने मान्छेहरू आउँछन कसरी बाँच्ने हो ?’

इन्सेकको सहयोग

हिंसा पीडित हरिसरालाई न्यायिक सहजताका लागि आर्थिक सहयोग गरेको थियो । उहाँलाई पारिवारिक सहयोग नभएपछि न्यायका लागि सघाउन १० हजार रुपियाँ सहयोग उपलब्ध गराएको हो । आर्थिक सहयोगले घोराही बजार आउन जान, प्रहरी र अदालतले बोलाएको बेला पुग्न सहज भएको उहाँले बताउनु भयो ।

Photo13112024Dang

Photo13112024Dang1

Photo13112024Dang2

Photo13112024Dang3

Photo13112024Dang4

Photo13112024Dang5

Photo13112024Dang6

अन्य

भिडियो