१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–७ का ४३ वर्षीय जंगत वली क्षेत्रीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ कात्तिक २५ गतेको इजलासले १२ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति, ५ लाख रुपियाँ जरिबाना र पीडत राहत कोषमा २० हजार भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।
बालिकालाई ०८१ जेठ ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ६ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । वली क्षेत्रीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ५ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।