INSEC Online

📅 २०८३ जेष्ठ २१

माझी समुदायको नमूना बस्तीमा खानेपानी अभाव

बागलुङ नगरपालिका–१ रामरेखा खनिया बासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजनामार्फत घरघरमा खानेपानीका धारा बनेपनि तीन वर्षदेखि धारामा पानी नआएको माझी समुदायले गुनासो गरेका छन् । घरघरमा धारा बनेपनि यहाँका माझी समुदायले खानेपानीको चरम अभाव भोग्दै आएका छन् ।

सिमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्नका लागि तीन वर्षअघि ३० लाख रुपियाँ खर्चेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

आयोजनाको पूर्वाधार निर्माणपछि एक पटक धारामा बालुवा सहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनु भयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआउँदा पर्वतको नाङ्लीबाङबाट पाइपमा ल्याएको पानी पालै पालो गाग्रीमा नापेर उपयोग गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

‘त्यही पानी पनि हिउँदमा आउँदैन । बर्खामा बिहान १ घण्टामात्र आउँछ ।’-माझीले भन्नु भयो-‘सिङ्गो बस्तीले पिउन, गाईवस्तुलाई खुवाउन, खाना बनाउन, भाँडा माझ्न, नुहाउन, लुगा धुन कसरी पुर्‍याउनु?’

photo20241112baglung

२०४८ सालमा बागलुङ पोखरा सडक खण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित कालीगण्डकी किनारामा ६ वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भएपनि पानी आउन सकेको छैन ।

१७ घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारा मात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिला माझीको भनाइ छ ।

नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्ष अधिनै सकिएको, ट्याङ्की र धारो लगायतको पूर्वाधार निर्माण भइसकेपनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनु भयो । १७ घरको बाहिर धारा बनेपनि उक्त धारा अहिले प्रयोग विहीन बनेका छन् ।

‘घर अघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारमा पानी खस्दैन । यो लिफ्ट आयोजना भरपर्दो नहुँदो रहेछ । एक पटक कालीगण्डकीको लेदो सहितको पानी धारामा आएको थियो । त्यसपछि पानी आएको थाहा छैन ।’-माझीले भन्नु भयो-‘अहिले वैकल्पिक रुपमा नाङ्लीवाङ्को पानी प्रयोग गर्छौँ । एउटा पाइपमा आएको पानी १७ घरमा पुर्‍याउन मुस्किल छ । हिउँदमा त खानेपानीको निकै समस्या हुन्छ ।’

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाई कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भएपनि पानी आउन नसकेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मत संभार गरेर आयोजनामार्फत पानी सुचारु गर्ने बताउनु भयो ।

अन्य

भिडियो