१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी डेढ महिना कैद र ५ हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।
पीडित बालिकालाई ०८० जेठ २ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, कैलालीमा आरोपित विरुद्ध जेठ ५ गते उजरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको ०८१ असार ७ गते बसेको इजलासले आरोपितलाई २५ हजार रुपियाँ धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० जेठ ५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।