सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् ।

गुलरिया नगरपालिका–१२, लालपुरका स्थानीय ५७ वर्षीय इस्माइल तेलीले मृगौला रोगको डाइलासिसको लागि पालो नआएपछि पटक पटक डाइलासिस लगायतका चेकजाँच गर्नका लागि १२ कठ्ठा जग्गा बेच्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘घरको आर्थिक अवस्था कमजोर थियो । त्यसकारण कमाउन साउदी अरब गएको थिएँ । साउदी अरब बस्दा कमाएको पैसाले १० कठ्ठा जग्गा किनेको थिएँ । त्यो पनि उपचार गर्दा सकियो । सरकारले डाइलासिस सेवा निःशुल्क हुन्छ भने पनि पालो पाउनै मुस्किल रहेछ ।’
बर्दिया मृगौला रोगका बिरामीको समस्या दिनानुदिन बढ्दै गएको पाइएको छ । नागरिकले आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा मृगौला रोगको समस्या बढ्दै गएको छ । विपन्न परिवारलाई आर्थिक अभावले गर्दा उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ । सङ्घीय सरकारले मृगौला रोगका बिरामीको लागि निःशुल्क डाइलासिस सेवा उपलब्ध गराएको छ भने लुम्बिनी प्रदेश सरकारले मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार रुपियाँ भत्ता दिएको छ ।
एक वर्ष भन्दा धेरै समयदेखि मृगौला रोग लागेको बढैयाताल गाउँपालिका–७ की लक्ष्मी थारुको उपचारको क्रममा जेठ २७ गते मृत्यु भएको मृतकको पति ५२ वर्षीय कृष्णप्रसाद थारुले बताउनु भयो । पत्नीको मृगौलाले काम गर्न छोडेपछि उपचार गर्दागर्दै मृत्यु भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘पत्नीको उपचार गर्दा तीन लाख ऋण लाग्यो । सरकारले मृगौला रोगीको लागि भनेर व्यवस्था गरेको डाइलासिस सेवा लिन मुस्किल रहेछ । पालो कुर्दाकुर्दै बिरामीको ज्यान गयो । तर सरकारले गरेको निःशुल्क सेवा लिन पाइएन ।’
मृगौला रोगको बिरामी बढ्दै
स्थानीय तहबाट मृगौला रोगका बिरामीले निःशुल्क डाइलासिस सेवा र मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार रुपियाँ भत्ता लिनका लागि सिफारिस दिनेको बढेको पाइएको छ । बर्दियामा रहेको आठ स्थानीय तह मध्ये सबैभन्दा बढी मृगौला रोगका बिरामी राजापुर नगरपालिकामा रहेको पाएइको छ । आर्थिक वर्ष २०८०/८१ मा १ सय जना मृगौला रोगीले मृगौला रोगको उपचारको लागि सिफारिस लिएका थिए । जसमध्ये मृगौला रोगका सबैभन्दा बढी बिरामी राजापुर नगरपालिकामा २७ जना र सबैभन्दा कम गेरुवा गाउँपालिकामा रहेका छन् ।

जनशक्तिको अभावमा डाइलासिस सेवा एक सिफ्टमा सञ्चालन
बर्दिया अस्पताल गुलरियामा जनशक्तिको अभावले गर्दा एक सिफ्ट डाइलासिस सेवा सञ्चालनमा रहेको छ । डाइलासिस सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावमा एक सिफ्ट मात्र डाइलासिस सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । बर्दिया अस्पताल, गुलरियाले पाँच शैयाको डाइलासिस उपचार सेवा सुरु गरेको छ । गत वैशाख महिनाबाट अस्पताल, मृगौलाको डाइलासिस सेवा सुरु भएसँगै बिरामीले उपचार सेवा पाएको भए पनि अस्पतालमा एक सिफ्ट मात्र डाइलासिक सेवा सञ्चालन हुँदा १७ जना निःशुल्क सेवा पाएका छन् भने १४ जनाले डाइलासिसको लागि नाम टिपाए पनि पालो आएको छैन । बर्दिया अस्पताल, गुलरियामा नाम टिपाएका मध्ये अधिकांशको मृत्यु समेत भएको छ ।
अस्पतालमा एक जना मेडिकल अधिकृतसहित दुई जना नर्स र कार्यालय सहयोगी भएको र एक जना मात्र प्राविधिक रहेकोले एक सिफ्ट मात्र डाइलासिस सेवा दिन सकिएको अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो – ‘डाइलासिसको मेसिन छ, तर पर्याप्त जनशक्ति नहुँदा समस्या परेको छ ।’
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त हकको उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर सरकारले आवश्यकता अनुसारको स्रोत साधन उपलब्ध नगराउँदा बिरामीको ज्यान जानुको साथै अनेक खालका समस्या समेत भोग्नु परेको छ ।





