INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको ०८१ कात्तिक १२ गतेको एकल इजलासले विपक्षीका नाम १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो ।

462537832_1930290030822905_6411274075348248385_n

वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क छेउमा विगत दुई वर्षदेखि खड्का निर्माण सेवाले अस्फाल्ट उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक निस्किने धुवाँले वीरेन्द्रनगरलाई नै प्रदुषित बनाएको भन्दै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता प्रकाश बाबु ऐडी र सामाजिक अभियन्ता नवराज बोहराले उक्त उद्योग विरुद्ध अन्तरिम आदेशसहितको आदेश जारी हुनुपर्ने मागसहित ०८१ कात्तिक ११ गते उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका थिए ।

आदेशमा भनिएको छ – ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम परमादेश समेतको आदेश जारी हुनु पर्ने हो, होइन ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत साथै राखी प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र विपक्षी जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको हकमा उच्च सरकारी वकिल कार्यालय, सुर्खेत मार्फत तथा अन्य विपक्षीहरूको हकमा आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् लिखित जवाफ पेश गर्नु भनी रिट निवेदन र आदेशको प्रतिलिपि समेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नु ।’

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालय र खड्का निर्माण सेवा बाँकेलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरिएको थियो । ‘अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने रिट निवेदन मागतर्फ विचार गर्दा यसमा दुवै पक्ष बिच छलफल गराई अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकोले २०८१ कात्तिक २६ मा अन्तरिम आदेश सम्बन्धमा छलफलको पेशी तोकी विपक्षीहरूलाई समेत सो व्यहोराको जानकारी दिइ नियमानुसार गरी पेश गर्नु’ – आदेशमा उल्लेख छ ।

462542469_488837830802388_434981916720267506_n

अन्य

भिडियो