INSEC Online

📅 २०८३ जेष्ठ २१

विवाह गर्ने उमेरसम्म नपुग्दै एक वर्षमा १ सय ३२ जना युवती आमा

नेपालको संविधान र विद्यमान कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने भन्ने कल्पना पनि गरेको छैन । मुलुकी अपराध संहिता-२०७४ मा २० वर्षभन्दा कम उमेरमा गरेको विवाह स्वतः बदर हुने उल्लेख छ तर म्याग्दी जिल्ला भित्र गत आर्थिक वर्षमा मात्रै १ सय ३२ जना २० वर्षभन्दा कम उमेरका युवतीहरू आमा भएका छन् ।

मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको अन्तर्गतको दफा १७३ मा ‘बाल विवाह गर्न नहुने’ भन्ने व्यवस्था उल्लेख छ । दफा १७३ को उपदफा दफा १ मा ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख छ । उपदफा २ मा ‘उपदफा (१) विपरित भएको विवाह स्वतः बदर हुनेछ भनिएको छ भने उपदफा ३ मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिबाना हुनेछ भन्ने उल्लखे छ ।

मुलुकी अपराध संहितामा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नै नहुने व्यवस्था भएको भएतापनि म्याग्दी जिल्लाभित्र सुत्केरी हुने २० वर्षभन्दा कम उमेरका युवतिहरूको सङ्ख्या नै १ सय ३२ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनु भयो । कानुनले विवाह गर्नका लागि तोकेको उमेरभन्दा कम उमेरमै आमा भइसकेको अवस्था हेर्दा विवाहको उमेर झन् अगाडि नै भएको देखिन्छ । कानुनले बर्जित गरेको २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम जिल्लाभित्र सुत्केरी भएका महिलाहरूको अवस्थाले नरोकिएको देखाउँछ ।

जिल्लामा रहेका ६ ओटै स्थानीय तहमा नै २० वर्षभन्दा कम उमेरका आमा भएको तथ्याङ्कले देखाउने सूचना अधिकारी सुवेदीको भनाइ छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार जिल्लामा १ सय ३२ जना महिलाले २० वर्षभन्दा कम उमेरमा नै बच्चा जन्माएका छन् । २० वर्ष मुनिको उमेरमा विवाह भएको भन्दै उजुरी दिने वा कानुनी व्यवस्थाका बारेमा चासोका साथ कुराकानी हुने गरेको देखिएको छैन । अवस्था हेर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरू नरहेको जस्तो देखिएको भए पनि १ सय ३२ जना किशोरीहरूले २० वर्ष मुनि नै सुत्केरी हुनुले जिल्लामा कानुनको पालना भएनभएको बारेमा पनि सोच्न पर्ने देखिएको छ । जिल्लामा १ सय ३२ जना २० वर्ष मुनिका र ५ सय ९७ जना २० वर्ष माथिका महिला सुत्केरी भएका छन् । यो सङ्ख्या रोक्नका लागि तत्काल नसकिने देखिएपनि परिवार नियोजनको साधनको प्रयोग बढाएको खण्डमा भने किशोरी आमाको सङ्ख्या घटाउन सकिने ठकुराठीको भनाइ छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ हजार १ सय ९३ जना २० वर्ष माथिका महिला सुत्केरी हुँदा १ सय ८८ जना २० वर्ष मुनिका युवतीहरू सुत्केरी भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आार्थिक वर्षमा समग्र सुत्केरी हुनेको सङ्ख्या नै कम भएकाले २० वर्ष मुनिका सुत्केरी हुनेको सङ्ख्या घटेको देखिए पनि यो समस्या समाधान हुन निकै समय लाग्ने जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो–‘२० वर्ष भन्दा कम उमेरमा विवाह गर्न हुँदैन भनेर जतनचेताना जगाउने र अभियान नै बनाएर सबै स्थानीय तह तथा जनप्रतिनिधि र सबै तहतप्काका नागरिकले नै प्रयास नगरे सम्म यो हट्न सक्दैन ।’

किशोरी आमाको सङ्ख्या न्यूनीकरण गर्नका लागि बालविवाह नै रोक्नु पर्ने र त्यसका लागि समुदाय र विद्यालयमा गएर जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको जिल्ला समन्वय समितिकी उपप्रमुख खत्रीको भनाइ छ । उहाँले भन्नु भयो–‘अधिकारका कुराहरूले पनि केही सहज र असहज बनाएको हुन्छ, बालविवाह शुन्य बनाउनु पर्ने र भइहालेको अवस्था रहेछ भने पनि स्थानीय तवरबाटै त्यसलाई रोक्न पर्ने हुन्छ ।’

अन्य

भिडियो