INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण

स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ ।

महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख रुपियाँ खर्च गर्न पाउने आयोगका सहसचिव एवम् प्रवक्ता नारायण सापकोटाले जानकारी दिनु भयो । त्यसैगरी गाउँपालिका वडा अध्यक्ष पदमा उम्मेदवारले १ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने सापकोटाले बताउनु भयो ।

महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपियाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपियाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार रुपियाँ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने गरी आयोगले प्रष्ट्याएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपियाँ खर्च गर्न पाउने जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको हद निर्धारण गरेको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । स्थानीय तहको उपनिर्वाचन आगामी मङ्सिर १६ गते गरिने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।

photo20241025kathmandu

 

अन्य

भिडियो