बाढीपहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको अवस्थाका सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले स्थलगत अध्ययन गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको ११ ओटा स्थानीय तहमा ७८ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । जसमा दुई महिनाको शिशुदेखि ७६ वर्षका ज्येष्ठ नागरिकसम्म रहेका छन् । बाढीपहिरोमा परी ७९ जना घाइते भएका छन् । बाढीपहिरोमा जिल्लाका २६ ओटा विद्यालय पूर्ण क्षति र १ सय ७० ओटा विद्यालयमा आंशिक क्षति भएको छ । बाढीपहिरोमा परेका ८ सय ६७ जना व्यक्तिलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको सक्रियतामा हेलिप्याडबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयकी एसपी बसुन्धरा खड्काले बताउनु भयो । स्थानीय तह र सुरक्षाकर्मीको सहयोगमा ३ हजार २ सय ९९ जनालाई अन्य माध्यमबाट उद्धार गरिएको उहाँले बताउनु भयो । बाढीपहिरोका कारण ३ हजार ५ सय भन्दा बढी निजी घरहरू पूर्ण क्षति भएका छन् ।

सरकारीस्तरका ३० ओटा भन्दा बढी भवनहरू क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सडक डिभिजन कार्यालयका अनुसार १९ ओटा ग्रामीण सडकको करिव ६ सय ५५ किलोमिटर सडक अझै अवरुद्ध छ । जिल्लाका ९६ ओटा सिंचाई प्रणाली ध्वस्त हुँदा २२ करोड भन्दा बढीको क्षति भएको अनुमान छ ।

खानेपानी र सरसफाईको क्षेत्रमा टोल र बस्तीस्तरका खानेपानी पाइपहरू बगाएका कारण अझै ग्रामीण तहमा खानेपानीको हाहाकार चलेको छ । बनेपा, पनौती र धुलिखेलको एकिकृत खानेपानीको २ किलोमिटर क्षेत्रको पाइप बगाउँदा करिब १० करोडको नोक्सानी भएको अनुमान छ । जिल्ला सिंचाई कार्यालयमा तत्काल ५८ ओटा खानेपानी आयोजनाका लागि पाइप उपलब्ध गराउन निवेदनहरूको चाङ लागेको कार्यालयले जनाएको छ ।

जिल्लाको चार ओटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । रोशी, महाभारत र खानिखोला गाउँपालिकाको स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको २५ ओटाभन्दा बढी टावरमा क्षति भएका कारण अप्टिकल फाइबर, टेलिफोन–विद्युतको पोल र तारहरू समेत बगाएको छ । बेथानचोक गाउँपालिकाको प्रशासकीय भवनमा समेत क्षति भएको छ ।

सरकारले असोज २१ गतेको राजपत्रमा सूचना प्रकाशित गरी धुलिखेल र बनेपा बाहेकका ११ ओटा स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गरेको छ । सरकारले राजपत्रमा २० जिल्लाका ७१ ओटा स्थानीय तहलाई तीन महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बाढीपहिरोमा मानव अधिकारको सवाललाई ध्यान दिँदै जिल्लाको सबैभन्दा बढी क्षति भएको रोशी र बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको केही क्षेत्रको स्थलगत अध्ययन गरेको छ । कात्तिक ६ गतेदेखि कात्तिक ८ गतेसम्म गरिएको अध्ययनका क्रममा जिल्लास्थित सरोकारवाला र पीडितहरूसँग साक्षात्कार गरिएको इन्सेक अनलाइनका सम्पादक गोविन्दप्रसाद त्रिपाठीले बताउनु भयो ।

