शान्तिनगर गाउँपालिका–३ स्थित वीपी कोइराला मावि, शान्तिनगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४३ वर्षीय देवराज मल्ललाई ०८१ कात्तिक ३ गते कुटपिट गरेको भन्दै शान्तिनगर गाउँपालिका–३ का २५ वर्षीय शिखर केसी विरुद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक ६ गते उजुरी दर्ता भएको छ ।
शिक्षक अभावले पठनपाठनमा समस्या भएको र रिक्त प्रावि दरवन्दीका विषयमा छलफल भइरहेको बेला पूर्व शिक्षक बुद्धिबहादुर केसीका छोरा शिखर केसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्ललाई कुटपिट गरेका थिए । शान्तिनगर गाउँपालिका–३ का वडाध्यक्ष मिनबहादुर केसी र सदस्य भिमी नेपालीको उपस्थितिमा विद्यालय प्राङ्गणमै छलफल भइरहेका बेला केसीले अध्यक्षलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिनुभयो । आरोपित केसी फरार भएकाले खोजी भइरहेको इन्स्पेक्टर थापाले बताउनु भयो । आरोपित केसीका बुबा बुद्धिबहादुर केसी विपी कोइराला मावि शान्तिनगरका प्रावि स्थायी शिक्षक हुनुहुन्थ्यो ।
उहाँ डिभी चिट्ठा परेपछि ०८० पुस २९ गते राजिनामा दिएर अमेरिका गएपछि उक्त दरवन्दी रिक्त छ । तर सरकारी शिक्षक अमेरिका गएपछि शिक्षा समन्वय इकाईले राजिनामाका लागि कागजात नपुगेको भन्दै स्वीकृत नगर्दा विद्यालयले नयाँ शिक्षक पाउन नसकेको र पठनपाठनमा समस्या भएकाले शिक्षा समन्वयले मागेका कागजात उपलब्ध गराइदिन विद्यालय व्यवस्थापन समितिले आग्रह गर्दै आएको छ । तर पूर्वशिक्षक बुद्धिबहादुर केसीले अमेरिका गएको प्रमाण नदिँदा राजिनामा स्वीकृत नहुने र विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित हुँदै आएको छ ।
शिक्षा समन्वय इकाईमा अमेरिका गएको प्रमाण बुझाइदिन आग्रह गर्दा पूर्व शिक्षक बुद्धिबहादुर केसीले वास्ता नगरेपछि छोरा शिखरलाई सहजीकरण गरिदिन आग्रह गर्दा उल्टै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्ललाई कुटपिट गरेको विद्यालयले जनाएको छ ।