आठ वर्षीया बालिकामाथि बलात्कार भएको दश दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नहरूलाई गिरफ्तार नगरेको भन्दै राप्ती गाउँपालिका–१, भालुवाङमा ०८१ कात्तिक ३ गते भएको सर्वपक्षीय भेलाले पीडितको न्यायका लागि १८ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।
स्थानीयवासी, राजनीतिक दल, व्यवसायी तथा सङ्घ संस्थाका प्रतिनिधिको भेलाले स्थानीय सुरज खड्काको संयोजकत्वमा १८ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो । समितिको उपसंयोजकमा गञ्जबहादुर विष्ट र सदस्यहरूमा घमानसिंह राउत, नारायण शर्मा, राजकुमार आचार्य, बाबुराम थापा, भिमप्रकाश पुन, मुकुन्द रोका, शिशिर पुन, विधानचन्द्र अधिकारी, विशाल ज्ञवाली, श्रीधर जिसी, दिनेश आचार्य, सुर्यकिरण केसी, कर्णबहादुर केसी, असन सारु, डिल्ली सुवेदी र विष्णु बोहोरा हुनुहुन्छ ।
सङ्घर्ष समितिले असोज ३ गते इलाका प्रहरी कार्यालय, भालुवाङमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घर्ष समितिले तत्काल दोषी पत्ता लगाइ सार्वजनिक गर्नुपर्ने र कारवाहीका लागि काम थाल्नुपर्ने माग गरेको सङ्घर्ष समितिका संयोजक सुरज खड्काले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रहरी कार्यालय, भालुवाङका इन्स्पेक्टर अमरबहादुर माझीले घटनाको अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भयो ।
स्थानीयद्वारा नाराबाजी
बालिका बलात्कृत भएको दश दिनसम्म पनि आरोपित पहिचान नगरेको भन्दै स्थानीयले असोज ३ गते इलाका प्रहरी कार्यालय, भालुवाङ परिसरमा प्रदर्शन गरेका छन् । प्रहरीले घटनामा संलग्नलाई खोज्न आनाकानी गरेको भन्दै उनीहरूले नारावाजी समेत गरेका थिए । ०८१ असोज २४ गते राप्ती गाउँपालिका–१ पुल्चोकस्थित सशस्त्र प्रहरी बलको क्याम्प नजिकै बनाइएको पिङ खेल्न जानुभएकी आठ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले असोज २५ गते दिएको उजुरी प्रहरीले असोज ३० गते दर्ता गरेको थियो ।