INSEC Online

📅 २०८३ जेष्ठ २२

लथालिङ्ग १५ शैयाका अस्पताल: निर्माण भएका पनि प्रयोग बिहिन ! (फोटो फिचर)

जिल्लाका स्थानीय तहहरूमा निर्माण भएका १५ शैयाका अस्पताल लथालिङ्ग बनेका छन् । निर्माण भएका उक्त अस्पताल पनि प्रयोग बिहिन भएपछि स्थानीयमा निराशा छाएको छ ।

Photo16102024Gulmi3

सदरमुकाम तम्घासमा ५० शैयाको गुल्मी अस्पताल तीन वर्षदेखि निर्माणाधिन छ । यो अस्पताल ०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको सात वर्षपछि संरचना निर्माणको काम सुरु भएको थियो । पुर्वाधारको हिसाबले स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपियाँको लागतमा साढे पाँच तालासहितको आधुनिक भवन निर्माण हुँदैछ । तर, दरबन्दी अनुसारका जनशक्ति ३० प्रतिशत छैनन् । १० जना विशेषज्ञ मध्ये एक जना मात्र छन् ।

Photo16102024Gulmi4

जनशक्ति नभएकै कारण डेढ करोडको आइसियु अलपत्र परिरहेको छ । तर, आधा–आधा घण्टाको फरकमा स्थानीय सरकारपिच्छे करोडौँ खर्चेर १५ शैयाका अस्पताल निर्माण अगाडि बढेका छन् । अहिलेसम्म अस्पताल सञ्चालन तथा व्यावस्थापनको टुङ्गो छैन । जसका कारण निर्माण सम्पन्न भएको दुई वर्षसम्म चन्द्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाका १५ शैया अस्पताल अलपत्र परेका छन् । गुल्मीदरवार गाउँपालिका–३ को धुरेलडाँडामामा अस्पताल निर्माण भएपछि स्थानीय खुसी थिए । तर, डेढ वर्षदेखि अस्पतालको गेटमा ताला लागेकोमा निकै दुख लागेको महिला स्वास्थ्य स्वयसेवि लिला थापाले बताउनु भयो । जिल्लामा सबैभन्दा छिटो अस्पताल निर्माण भएको हो । उहाँले भन्नुभयो – ‘नजिकमा ठूलो अस्पताल बनेपछि सवै खुसी थियौँ । सरकारले काम गरेको पैसा नदिएपछि निर्माण व्यावसायीले गेटमा ताला ठोकेका छन् ।’

०७८ सालमा निर्माण सम्झौता गरेको निर्माण कम्पनी अर्जुन बिल्ड्रसले समयमै काम सकेपनि दुई करोडभन्दा बढी रकम भुक्तानी दिन नसकेका कारण अस्पताल हस्तान्तरण गर्न नभएको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले बताउनु भयो । सोही निर्माण कम्पनीले चन्द्रकोट गाउँपालिकामा पनि करिव दुई करोड पैसा भुक्तानी नभएपछि अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरेको छैन । जिल्लामा गुल्मीदरवार र चन्द्रकोट बाहेक कालिगण्डकी, सत्यवति, मुसिकोट, इस्मा, छत्रकोट, रुरुक्षेत्र र मदाने गाउँपालिकामा १५ शैयाका अस्पताल निर्माण अगाडि बढाएका छन् ।

तर, काम कछुवाको गतिमा छ । धुर्कोट र मालिकाले अहिले अस्पताल निर्माणको योजना अगाडि बढाएका छन् । अस्पताल व्यावस्थापन तथा सञ्चालन निकै चुनौतिपूर्ण भएकाले आफूहरूले प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ शैयाको सेवा सुरु गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो । संरचनाभन्दा सेवा महत्त्वपूर्ण विषय भएकाले सेवासँगै संरचना निर्माण हुँदै जाने पोख्रेलले बताउनु भयो । स्थानीय तह र स्थानीय स्वास्थ्य चौकी करार जनशक्तिका भरमा चलेका बेला १५ शैयाको अस्पतालमा २९ जनाको दरबन्दीसहित करोडौँमा निर्माण भएकाले आलिसान अस्पताल अन्तिममा प्रयोग बिहिन नै हुने छत्रकोट गाउँपालिका–३ का अगुवा जनक पन्थले बताउनु भयो । गुल्मी अस्पतालबाट ३० मिनेटको दुरीमा गुल्मी दरवारमा लिफ्टसहितको चार तलाको अस्पताल निर्माण गरिएको छ । करिव आधा घण्टाकै दुरीमा छत्रकोट गाउँपालिकामा ठूलो भौतिक पुर्वाधारसहितको श्रृङ्गा प्राथमिक केन्द्र वर्षौदेखि सञ्चालनमा छ । त्यसैले छत्रकोटमा १५ शैयाको अस्पताल भन्दा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति र उपकरणको व्यावस्थापनको आवश्यकता अहिले रहेको पन्थले बताउनु भयो । छत्रकोटमा १५ शैयाको अस्पताल निर्माणको काम शिलन्यासमै रोकिएको छ ।

Photo16102024Gulmi

Photo16102024Gulmi1

Photo16102024Gulmi2

Photo16102024Gulmi5

Photo16102024Gulmi6

Photo16102024Gulmi7

अन्य

भिडियो