INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ ।

हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र नेसिङमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी नरहेका आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो । यि स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी मात्र होइन निःशुल्क प्रदान हुने औषधि पनि अभाव भएको तामाङले बताउनु भयो ।

‘कहिले औषधि सकिएको त कहिले स्वास्थ्यकर्मी नभएर फर्कनु पर्छ ।’-स्थानीय आमाछोदिङमो गाउँपालिका-२ का दावा तामाङले भन्नु भयो । उहाँले पखला लागेर लखतरान परेको बेलामा औषधि नपाएको बताउनु भयो । गोल्जुङ, गतलाङ र थाम्बुचेतका स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव भएकोले सेवा प्रवहामा समस्या देखिएको प्रमुख तामाङले बताउनु भयो । प्रमुख तामाले भन्नु भयो-‘औषधि खरिद प्रक्रियामा केही ढिलाइ भएकोले केही औषधि अभाव भएको हो अब चाँढै औषधिको आपूर्ति हुन्छ ।’

सरुवा भएर जाने तर लोक सेवा आयोगबाट स्थायी दरबन्दीका कर्मचारी नआउने कारण समस्या भएको हो । गाउँपालिकाले करार सेवामा लिएका केही कर्मचारीले स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको र तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन एसबिए तालिम प्राप्त कर्मचारी आवश्यक पर्दछ ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा कर्मचारी नभएपछि सुत्केरी गराउन काठमाडौँ वा त्रिशूली जानु पर्ने बाध्यता रहेको छ ।

अन्य

भिडियो