प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् ।
वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा चक्रिवाङ्ग गाउँका नागरिकहरू बस्ती नजिकै बाट बगेको जुम्रीखोलाको दुषित पानी प्रयोग गर्दै आएको र खोलाको किनारमा कुवा बनाई पानी खाने गरेको स्थानीय ३८ वर्षीय नेत्रबहादुर कुवँरले बताउनु भयो । आफूहरूको बस्ती हुँदै तीन ओटा खानेपानीका योजनाहरू अन्य बस्तीमा लगेको र आफूहरूले स्थानीय तहका वडामा आफ्ना समस्या राख्दा पनि चासो नदिएको कुवँरले गुनासो गर्नुभयो ।
खानेपानीको सुविधा नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा पानी परी खोला धमिलो हुने र खोला छेउमा रहेका कुवाहरू पनि धमिलो हुने हुँदा आफूहरूले दुषित पानी पिउन बाध्य भएको प्यूठान नगरपालिका-३ का ४० वर्षीया हिरा खडकाले बताउनु भयो । दुषित पानी पिउँदा रुघाखोकी, ज्वरो र पखला जस्ता रोगहरूले यस बस्तीका नागरिकहरूलाई सताइरहेको खड्काले बताउनु भयो ।
यस बस्तीमा खानेपानीको समस्या रहेको र आफूलाई पहिलेदेखि थाहा भएकोले पानीको व्यवस्थाको बारेमा नगरपालिकामा छलफल भएको प्यूठान नगरपालिकाका प्रवत्ता एवम् प्यूठान नगरपालिका-३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो । उहाँले बस्ती नजिक राम्रो खालको पानीको मुहान नभएको कारण बस्तीभन्दा टाढाबाट पानीको श्रोत खोजी ल्याउनुपर्ने भएकोले नदीको पानीलाई लिप्टीङ्ग गरी लग्नु बाहेक अन्य उपाए नभएको उल्लेख गर्नुभयो । आवश्यक बजेट बिनियोजन गरी तुरुन्तै सो बस्तीमा खानेपानीको सुविधा पुर्याउने योजना भएको प्यूठान उहाँको भनाइ छ ।
प्यूठान नगरपालिकाले आफनो कार्ययोजनामा स्थानीय तह भित्रका नागरिकहरूलाई ‘एक घर, एक खानेपानी धारा’ अभियान लिएता पनि आफ्नो बस्तीमा खानेपानीको सुविधा नहुँदा यो अभियान नाम मात्रको रहेको स्थानीय शिवबहादुर कुमालले गुनासो गर्नुभयो ।