हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ ।
बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने रघुगङ्गा गाउँपालिका–३ का वडा सदस्य रामजी शर्माले बताउनु भयो । हरेक दिन सरसफाई गर्दा पनि घरमा धुलो जम्मा भएकै हुन्छ । घरमा धुलो जम्मा हुने र सरसफाईको समस्या मात्रै नभएर रुघा खोकीका बिरामीहरू पनि बढ्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो–‘गाउँपालिकामा जलविद्युतका प्रतिनिधिहरुको संयुक्त बैठक बसेर ग्राभेल गर्ने, नियमित दिनमा आवश्यकता अनुसार पानी हाल्ने सहमति भएको हो तर कार्यान्वयनको पाटोमा अगाडि बढेन ।’

नियमित रुपमा बिहानैदेखि गाडी गुडाउँदा धुलाम्मे सडकले उडाउने धुलोका कारण कैयौं नागरिकहरु बिरामी परिरहने समस्या भएको छ । अहिलेको अवस्था हेर्ने हो भने पनि सडकको धुलोका कारण गाउँका हरेकजसो मानिसहरु बिरामी पर्ने समस्या भएको वडा सदस्य शर्माको भनाइ छ ।

रघुगङ्गा गाउँपालिकाभित्र मात्रै आठ ओटा जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । विद्युत विकास बोर्डको तथ्याङ्क अनुसार सरकारी स्वामित्वको ४० मेघावाटको रघुगङ्गा जलविद्यतु आयोजना रहेको छ । त्यस्तै निजी क्षेत्रका ३७ मेघावाटको राहुघाट मङ्गले, ४८ मेघावाटको अपर राहुघाट, २१.३ मेघावाटको ठुलोखोला हाइड्रो प्रोजेक्ट, ५.५ मेघावाटको बगरखोला जलविद्युत, २२.५ मेघावाटको माथिल्लो ठूलोखोला, ४.७५ मेघावाटको साइनोखोला र ४.७५ कै तल्लो ठूलोखोला जलविद्युत आयोजना सञ्चालित छन् ।

रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले धुलोकै कारण नियमित रुपमा दैनिक ५/७ जना रुघाखोकीका बिरामीहरु रघुगङ्गा गाउँपालिका भित्रका स्वास्थ्यचौकीहरुमा आउने गरेको बताउनु भयो । धुलोका कारणले गर्दा रुघाखोकी तथा दमका बिरामीहरु बढेको उहाँको भनाइ छ । उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–३ पिप्ले, ४ दगनाम, ७ चिमखोला तथा ८ नम्बर कुइनेमङ्गले सम्म पनि धुलोका कारण स्वास्थ्य समस्या देखिएको छ । यस क्षेत्रमा आठ ओटा जलविद्युत आयोजना निर्माणधिन रहेको तथा कच्ची सडकमा सवारी चापले गर्दा अत्याधिक धुलोका कारण स्थानीयहरु बिरामी पर्ने गरेको उहाँको तर्क छ ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले जलविद्युत आयोजनाहरुलाई गाउँपालिकामा बोलाएरै सडकमा हुने धुलोको समस्या समाधानका लागि प्रयास गरे पनि उनीहरुले अटेरी गरेको बताउनु भयो । ‘सो क्षेत्रमा रहेका जलविद्युतका प्रतिनिधिलाई राखेरै समस्या समाधानका लागि प्रयास गरेको हो तर उनीहरुले अटेरी गर्दा मानव स्वास्थ्यमा निकै ठूलो समस्या परेको छ।’–उहाँले भन्नु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जलविद्युतका प्रतिनिधिले गाउँपालिकामा आएर सडकमा हुने धुलोको समस्या समाधानका लागि संयुक्त प्रयास गर्ने सहमति गरेको भए पनि त्यसको कार्यान्वयनको पाटो भने अलिक नपुगेको बताउनु भयो । ‘सहमति भएको छ तर उनीहरुले सहमती पालना गरेको जस्तो भने देखिएको छैन ।’–उहाँले भन्नु भयो ।
