गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका सञ्चार माध्यममा प्रशारण र प्रकाशन भएपछि त्यसको प्रभाव स्वरुप र्याफ्टिङको व्यवस्था गरिएको छ ।
बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको प्रयोग !
उपचारको लागि सिन्धुलीको रातमाटा तथा खुर्कोट जान समेत स्थानीयले ट्युब प्रयोग गरी जोखिमपूर्ण तरिकाले नदी तर्नुपरेको समाचार सार्वजनिक भएपछि सो क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले गृह मन्त्रालयसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयमार्फत र्याफ्टिङको व्यवस्था गरिएको हो । नागरिकलाई परेको समस्या समाधान गर्न तत्कालको लागि र्याफ्टिङ उपलब्ध गराइएको खाँडादेवी गाउँपालिका–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गाउँपालिका उपाध्यक्ष रमा घिसिङ लगायतका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको उपस्थितिमा वडाध्यक्ष श्रेष्ठलाई र्याफ्टिङ हस्तान्तरण गर्नुभएको हो । र्याफ्टिङको सञ्चालन र मर्मतको जिम्मा वडा कार्यालय र गाउँपालिकाले लिएका छन् भने सुरक्षा मापदण्ड प्रयोग भए नभएको अनुगमन वडा कार्यालय र प्रहरीले गर्ने भएका छन् ।
बाढीले बेघारीको झोलुङ्गे पुल तथा खेरेनी घाटको पक्की पुलका साथै कोथपे क्षेत्रको सडक समेत बगाएपछि स्थानीय ट्युबको सहायताले जोखिमपूर्ण रूपमा सुनकोशी नदी तर्ने गरेका थिए । बिरामीलाई उपचार गर्न लैजान समेत ट्युब नै प्रयोग गर्नुपरेको बाध्यताको बारेमा गाउँपालिकाले जानकारी पाएपछि कोशी तर्न र्याफ्टिङ प्राप्त भएको स्थानीय मानव माझीले बताउनु भयो । र्याफ्टिङ प्राप्त भएपछि नदी वारपार गर्न सहज भएको उहाँको भनाइ छ ।
अन्य कुनै विकल्प नहुँदा गर्भवतीलाई समेत ट्युबमा तारेर सुत्केरी गराउन सिन्धुलीको रातमाटासम्म लगिएको उहाँले बताउनु भयो । अब भने नदी तर्न र तार्न ट्युबाट भन्दा सहज हुने उहाँको भनाइ छ ।
वडाध्यक्ष श्रेष्ठले ट्युब भन्दा र्याफ्टिङ सुरक्षित भए पनि पूर्ण रूपमा भने सुरक्षित नभएको बताउनु भयो । त्यसैले वारपार गर्दा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी र्याफ्टिङ नचलाउन उहाँले स्थानीयलाई आग्रह गर्नु भएको छ ।