INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या

अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ ।

स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई समेत समस्या भएको हो ।

स्वास्थ्य चौकीमा खानेपानीको असुविधा भएपछि घरबाटै पिउने पानी बोकेर ल्याउने गरेको उपचारका लागि आउनु भएकी गर्भवती संगिता सेटीले गुनासो गर्नु भयो ।

खानेपानीको अभावले स्वास्थ्यचौकी सरसफाई गर्न समेत समस्या हुने गरेको स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी पुष्पा साउदले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘नजिकको खोला वा गाउँको धाराबाट पानी ल्याउँछौँ । बोकेर ल्याएको पानी शौचालयमा प्रयोग गर्ने र सरसफाई गर्ने गरेका छौँ । खानेपानी अअभावले गर्दा गर्भवती, सुत्केरीहरुलाई थप समस्या हुनेगरेको छ ।’

लामो समयदेखि स्वास्थ्य चौकीमा खानेपानीको समस्या रहेको स्वास्थ्य चौकीका प्रमुख लोकराज पनेरुले बताउनु भयो । खानेपनी समस्याको दिर्घकालिन समाधानका लागि पटकपटक नगर स्वास्थ्य शाखा र वडा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको उहाँले बताउनु भयो ।

अमरगढी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तीर्थबहादुर ऐरले स्वास्थ्यचौकीमा खानेपानीको समस्या उत्पन्न भएको र पानीको समस्या समाधानका लागि पहल भइरहको बताउनु भयो ।

वडा कार्यालयको बजेटले मात्रै समस्या समाधान नहुने भएकोले नगरपालिकासँग समन्वय गरी बजेटको व्यवस्थापनका लागि अनुरोध गरिएको र यो समस्या चाँडै समाधान हुने उहाँले बताउनु भयो

अन्य

भिडियो