अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातयातमा छुट र आरक्षण सुविधा नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी ऐन ०७४ को परिच्छेद ८ को दफा ३७ को उपदफा २ मा सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउनु पर्ने उल्लेख छ । ज्येष्ठ नागरिक कल्याण ऐन ०६३ ले नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नुपर्ने र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरेको छ । तर, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले आफूहरूले सुविधा नपाएको गुनासो गरेका छन् ।
यो विषयमा आफूहरूले धेरै पटक सवारीधनी र सरोकारवालाई ध्यानाकर्षण गराए पनि सुविधाबाट वञ्चित भएर अरु नागरिक सरह यात्रा गर्न बाध्य भएको अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनु भएकी महिला अधिकाकर्मी कमला बरालले गुनासो गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधाभन्दा पनि गाडीले नै नबोक्नेसम्मको अवस्था रहेको बताउनु भयो । ‘गाडीमा छुट सुविधा छैन । सवारीधनीले मात्रै नभएर सीटमा बसेका अन्यले समेत वास्था गर्दैनन् । यो विषयमा सरकारका निकाय पनि मौन छ’, बरालले भन्नुभयो । दशैFको कारण दैनिक यात्रुले सवारीसाधन भरिएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूलाई अहिले सिटभन्दा भिडमा उभिएर बस्ने र कोचिनुपर्ने बाध्यतामा निकै सास्ती भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति पुनाराम घिमिरेले बताउनु भयो । उहाँले जिल्लाबाट काठमाडौँ र बुटवल छुट्ने सवारी साधानले समेत छुट नदिएकाले गाउँतिर कच्ची सडकमा सुविधा पाउने कुरै नभएको बताउनु भयो । ‘बोल्न सक्ने म आफैले सुविधा पाउँदैन भने अरुले अवस्था कस्तो होला । अपाङ्गता भएका व्यक्तिहरू पनि सुविधाको विषयमा अनविज्ञ रहेको घिमिरेले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूको मर्का कसैले सुन्दैनन् । यो देशमा आन्दोलन नभई केही उपलब्धी नहुने अवस्था रहेको छ’, घिमिरेले भन्नुभयो ।
ज्येष्ठ नागरिकहरू पनि सुविधाबाट वञ्चित छन् । धेरैले सुविधाको बारेमा व्यावसायीसँग माग गर्दैनन् । कसैले माग गरेर नपाउने अवस्थाका कारण खोजी नगर्ने र केहिले अज्ञानताको कारण बोल्दैनन् । परिचय पत्र देखाएर धेरै पटक सुविधा मागे पनि नपाएपछि आजकल बोक्न छोडेको इस्मा गाउँपालिका–३ का ७४ बर्षीय प्रेम घर्तिले गुनासो गर्नुभयो । गुल्मी यातयात प्रालीका सञ्चालक हिमाल कुवँरले जिल्लामा छुट सुविधा कार्यान्वयनमा नरहेको बताउनु भयो । उहाँले गाडीहरूमा सिट र सुविधा भएकाले सेवा पाउने र प्रदान गर्नेबिच मै अन्यौलता रहेको बताउनु भयो ।
सुविधा नपाएको विषयमा उजुरी गर्ने व्यावस्था समेत ऐनले गरेको छ । तर, उजुरी प्रक्रियाका बारेमा धेरैलाई ज्ञान छैन । अहिलेसम्म आफूहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले सिट वा सुविधा नपाएको विषयमा गुनासो वा उजुरी नआएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनु भयो ।