इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले ०८१ असोज २० गते सल्यान जिल्ला कारागार अनुगमन गरेको छ । कारागारमा रहेका नागरिकको हक अधिकार संरक्षणका लागि आयोगसँगको समन्वयमा कारागार अनुगमन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा टोलीले कारागारमा रहेका कैदी, बन्दी, जेलर, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग कारागार प्रशासन र व्यवस्थापन लगायतका विषयमा छलफल गरेको मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले बताउनु भयो । २५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल १ सय ४४ जना कैदीबन्दी रहेका छन् । जेलर भिम घर्तीका अनुसार कारागारमा १ सय २५ जना पुरुष, १७ जना महिला र दुई जना आश्रित नाबालक रहेका छन् ।
अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कैदीबन्दीलाई कोलिया, बरण्डामा सुत्नुपर्ने, शौचालय, धारामा पालो लगाउनुपर्ने लगायतका समस्या रहेको संयोजक सुवेदीले जानकारी दिनुभयो । महिलातर्फ सीप मूलक तालिम नपाएको, सिधा खर्च नपुग्ने, कारागार पुरानो र जीर्ण भएकाले वाइरिङ्को समस्या रहेको अनुगमन टोलीलाई महिला कैदीबन्दी रेश्मी बुढाले जानकारी दिनुभएको छ ।
यसैगरी वागचौर नगरपालिका–११ घरभई कारागारमा रहेका रमेश कुमार खड्काले यस अघि कारागार भित्र चौकीदार कमल कुमार खड्काले कैदीबन्दीलाई कुट्ने गरेको आरोप लगाउनु भयो । हाल ती चौकीदार अन्य कारागारमा सरुवा भएपछि कुटपिट नहुने रमेशले अनुगमन टोलीलाई बताउनु भयो । कारागारमा रहेका कैदीबन्दीको समयमा मुद्दाको फैसला नहुने, प्रहरी कार्यालयमा हुने बयान आफूले भने अनुसारको नहुने, प्रहरीले पिटेर बयान गराउने गरेको एक कैदी बन्दीले अनुगमनकाे क्रममा बताए।
सल्यान जिल्ला शारदा नगरपालिका–१२ घरभइ हाल कारागारमा रहेका तिलक बस्नेतले रगतमा इन्फेक्सन भइ उपचार गर्न जाँदा भेरी अस्पताल, नेपालगञ्जले भर्ना नगरेको र प्राइभेट अस्पतालमा उपचार गरेको रकम नपाएको अनुगमन टोलीसमक्ष गुनासो गर्नुभयो । अनुगमनका क्रममा कारागारमा रहेका पढ्ने उमेर समूहका कैदीबन्दीलाई परीक्षा दिने व्यवस्था मिलाइएको पाइएको संयोजक सुवेदीले बताउनु भयो । दीर्घ रोगीले खानुपर्ने नियमित औषधि निःशुल्क उपलब्ध भएको, कारागार भित्र रहेको पसलमा मूल्य सूची राखेको उहाँको भनाइ छ । यसैगरी कारागार भित्रका कोठामा राम्रोसँग घाम नलाग्ने भएकाले उपियाँ र उडुस लाग्ने गरेको कैदी बन्दीले अनुगमन टोलीसमक्ष बताएको उहाँले उल्लेख गर्नुभयो ।
कारागारमा ज्येष्ठ नागरिक पाँच जना, अपाङ्गता भएका एक जना, गर्भवति एक जना तथा दीर्घ रोगी पाँच जना रहेको छ । पुरुष कैदीबन्दीतर्फ मुढा बनाउँदै गरेको छ । कैदीबन्दीका कुनै गुनासा भए चौकीदार, नाइकेलाई राख्ने गरेको र आवश्यकता अनुसार जेलरसमक्ष राख्ने व्यवस्था मिलाएको जेलर भिमबहादुर घर्तीले जानकारी गराउनुभयो । जेलर घर्तीका अनुसार कारागार भित्रका कैदीबन्दी बिरामी भई बाहिर जिल्लामा पठाउनु पर्दा आफूहरूलाई तोकेको खर्चले नपुग्ने गुनसो गर्नुभयो । कारागारमा वार्षिक यो शिर्षकमा १ लाख ५० हजार रुपियाँ मात्र आउने गर्दछ । यो रकमले बिरामीको उपचार गराउन लैजादाको यात्रा, खाना, सुरक्षाकर्मीको दैनिक भत्ता यसैबाट दिनुपर्दा नपुग्ने जेलर घर्तीले बताउनु भयो ।

