INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मी अस्पतालको भवन समयमै निर्माण नहुँदा सेवा प्रवाहमा सास्ती ! (फोटो फिचर)

गुल्मी अस्पताल, तम्घासको निर्माणाधिन भवनको काम समयमै नहुँदा सेवा प्रवाहमा सास्ती खेपिरहनु परेको छ । ०७१ सालमा ५० शैयाका स्तरोन्नती भएपछि दशक बढिदेखि अस्पतालले संरचनाको अभाव खेपिरहेको छ ।

Photo07102024Gulmi5

सेवाग्राहीको चाप अत्यधिक हुने तर सोही अनुसारको संरचना नहुँदा सेवाग्राही र अस्पताल दुवैलाई समस्या भइरहेको छ । अहिले गुल्मी अस्पताल दैनिक ३ सय ५० जनाभन्दा बढिले सेवा पाउँदै आएका छन् । तर, भवन नहुँदा एउटै कोठामा चार जना डाक्टरले सेवाग्राहीलाई उभिएर सेवा दिनुपर्ने अवस्था रहेको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताउनु भयो । त्यो बाहेक अस्पतालका उपकरणहरू अनुसारका कोठा व्यावस्थापनमा समस्या छ । एउटै कोठामा बिरामी जाँच्नुपर्ने डाक्टरहरूको रहर नभएर बाध्यता भएकाले नयाँ भवनमा छुट्टाछुट्टै कोठाहरू भए पनि काम नभएको बताउनु भयो ।

Photo07102024Gulmi1

बिरामीहरू पनि राम्रोसँग उभिन पनि नसक्ने अवस्था अस्पताल संरचनाको कारण भएकाले सरोकारवालाले निर्माण व्यावसायीलाई दबाब दिनुपर्ने अर्यालले बताउनु भयो । करोडौँको अत्याधुनिक अस्पताल संरचना अलपत्र हुँदा पुरानो भवनमा एउटै कोठामा चार/पाँच जना बिरामी हेर्ने अवस्थाले व्यक्तिको गोपनीयतामा नरहने बिडम्बना देखिएको नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले बताउनु भयो । ‘समस्या नयाँ होइन । पुरानो भवनमा बिरामीको गोपनीयता रहने अवस्था समेत छैन । काम नभएपछि बजेट र योजना मात्र नहुने रहेछ’, पाण्डेयले भन्नुभयो । अस्पतालको अप्ठ्यारोका विषयमा नागरिक स्तरबाट विरोध पनि भइरहेका छन् ।

Photo07102024Gulmi3

अत्यधिक भीडको कारण अस्पतालमा खुट्टा टेक्ने ठाउँ समेत हुँदैन । बिल काउन्टर, प्रयोगशाला, एक्सरे लगायत डाक्टरहरूले बिरामी जाँच गर्ने ठाउँमा पस्ने ठाउँ हुँदैन । जसका कारण अति अशक्त, गम्भीर बिरामी र फ्लोपमा आएकाहरूलाई ठूलो सास्ती भइरहेको मालिका गाउँपालिका–८ का स्थानीय कमल केसीले गुनासो गर्नुभयो । ‘अस्पतालमा भीडले बस्ने ठाउँसम्म छैन । मैले ८४ वर्षीय बुबालाई लौरोका भरमा दिनभर उभाएको छु । नजिकै अत्यधुनिक भवन बन्दै गरेर के काम’, उहाँले भन्नुभयो । नयाँ अस्पताल भवन ०७८ असार १८ गते सम्झौता भएर काम सुरु भएको थियो । सम्झौता अनुसार ०८० असार १७ गतेसम्म काम सकिनुपर्थ्यो । तर, सम्झौता अवधीमा भवन निर्माण कार्य नभएपछि पुनः ०८० पुस १७ गतेसम्मका लागि थप म्याद थपिएको हो ।

Photo07102024Gulmi8

निर्माण व्यावसायीले काम नगरेपछि अहिलेसम्म भवन नबनेको गुल्मी अस्पताल, तम्घासका अस्पताल विकास समिति अध्यक्ष गोपाल प्रसाद पाण्डेयले बताउनु भयो । भवनको स्वच्छन्द–बानियाँ जे.भी हेटौँडा, मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपियाँ लागत सम्झौता गरेको थियो । निर्माण व्यवसायीले म्याद मात्र थप्ने तर जनशक्ति बढाएर काम नगरे पनि रेसुङ्गा नगरपालिकाले सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराएको छ । सेवाग्राहीहरूको भीड र संरचनाको बिडम्बना बढ्दै गएपछि प्रधानमन्त्रीलाई छिटो अस्पतालको काम गर्न निर्माण व्यावसायीलाई दबाब दिन पत्र लेखेको मेयर खिलध्वज पन्थीले बताउनु भयो । नयाँ भवनम आइसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था रहेको छ ।

Photo07102024Gulmi

Photo07102024Gulmi2

Photo07102024Gulmi4

Photo07102024Gulmi7

Photo07102024Gulmi6

Photo07102024Gulmi9

अन्य

भिडियो