असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा पसेपछि यहाँका बासिन्दालाई लत्ता कपडा, खाना, र शुद्ध पिउने पानीको समस्या भएको छ ।

बाढीले गर्दा यहाँका बासिन्दाको घरमा खाना पाक्दैन । उनीहरूलाई वडा कार्यालयले एकछाक निःशुल्क खानाको व्यवस्था गरेको छ । घरमा भएका सरसामान हिलोसहितको बाढीले बगाएपछि सबैको बिचल्ली भएको छ । वंशीघाटमा बस्दै आएका सुकुम्बासीको अवस्था हेर्दा सामान्य देखिएपनि घरअगाडि नै सडक हिलाम्मे छ । सो सडकबाट मोटरसाइकल, गाडी गुड्ने गर्छन् । सवारी साधनले हिलो उछिट्याउँदा घरैमा पर्छ । बाढीले घरको माथिसम्म पुगेपछि यहाँका जनप्रतिनिधि, सर्वसाधारण, प्रहरी सबैले बाढीमा फसेका नागरिकलाई बोटबाट उद्दार गरेर सुरक्षित स्थानमा सारिएको स्थानीय साधन श्रेष्ठले बताउनु भयो ।

सुकुम्बासी बस्तीमा लेदोसहितको बाढीले प्रत्येकका घरघरमा नोक्सान पुर्याएको साधन श्रेष्ठले बताउनु भयो । बाढीले सुकुम्बासी बस्तीका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडालगायतका सामग्री नै तहसनहस गरेको छ ।’–उहाँले भन्नु भयो । रसु थापाको पनि उस्तै पीडा छ । ‘बाढीले लत्ता कपडा सबै बगायो खाना एक छाक वडाले खुवाएर सहयोग गरेको छ । स्थानीय सरकार तथा नेपाल सरकारले सुकुम्बासीलाई स्वच्छ पिउने पानी, एकसरो लत्ता कपडाको व्यवस्था गरिदिएको भए हुन्थ्यो ।’–उहाँले भन्नु भयो ।

वडाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्दै आएको वडा नम्बर ११ की वडा सदस्य आशा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो बस्तीमा १ सय ४२ घरधुरी र ६ सय परिवार रहेका छन् । वडाले बाढी पीडितलाई तीन दिन स्कुल बन्द गराएर बाढी पीडितलाई गुह्वेश्वरी स्कुलमा बास सारेको बताउनु भयो । ‘वडाले बाढी पीडितलाई निःशुक खाना दिँदै आएको छ । यसका साथै यहाँ पिउने पानीकाे समस्या देखिएकोले एउटा संस्थासँग वडाको सहकार्यमा शुद्ध पिउने पानी छिटै पुर्याउने योजनामा छौँ ।’–उहाँले भन्नु भयो ।
















