INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोका कारण १४ बालबालिकाको मृत्यु, दर्जनौं विद्यालयमा क्षति

असोज १० गतेदेखि असोज १२ गतेसम्म परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरोमा परी ६ जना बालिकासहित १४ जना बालबालिकाको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका तीन जना बालबालिकाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।

बाढी पहिरोमा परेर दुई जना बालिका हराइरहेका छन् । बाढी पहिरोमा परेका ६ जना बालिकासहित ३४ जनाको उद्दार सुरक्षाकर्मीले गरेका छन् ।

तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत एक तथा सर्वोद्वार माविका दुई विद्यार्थीको पहिरोमा परी परिवारसहित मृत्यु भएको छ । यस गाउँपालिका अन्तर्गत जनचेतना माविको पाँच कोठाको दुई तले भवन पूर्णरुपमा क्षति भएको छ । कालिदेवि आधारभुत विद्यालयमा पहिरो खस्दा एउटा भवन पूर्णरुपमा क्षति भएको छ । नारायणस्थान आधारभुत विद्यालयको कम्पाउन्ड पहिरोमा परि क्षति हुनुका साथै कक्षा कोठाहरूमा समेत क्षति पुगेको छ । जनज्योति मावि र सिमभञ्ज्याङ आधारभुत विद्यालयको कम्पाउन्डमा पहिरोले सामान्य क्षति पुर्‍याएको  छ ।

photo20241003kabhre (5)

रोशी गाउँपालिकामा सबैभन्दा बढी क्षति देखिएको छ । रोशी गाउँपालिका-४ स्थित ज्वालादेवी आधारभुत विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थी सहित पाँच जना एकै परिवारका सदस्यको मृत्यु भएको छ । देविश्वरी आधारभुत विद्यालय रोशी गाउँपालिका-८ किर्दासमा बाढी पसेर विद्यालय पुरिएको छ । रोशी गाउँपालिका-७ को अमरनाथ आधारभुत विद्यालय परिसर कम्पाउण्डसहित नदीले कटान गरेको छ ।

रोशी गाउँपालिका-९ स्थित मङ्गल जनविजय मावि मङ्गलटारको विद्यालय परिसरमा बाढी पसेर कम्पाउण्ड बगाएको छ भने विद्यालयको गेट भत्किएको छ । रोशी गाउँपालिका-१० स्थित पञ्चकन्या मावि वाल्टिङमा बाढी पसेर क्षति भएको छ ।

photo20241003kabhre (1)

रोशी गाउँपालिका-४ स्थित ज्वालादेवी आधारभुत विद्यालय र वडा नं ११ को शान्तिबुद्ध आधारभुत विद्यालयलाई खोलाले कटान गरी जोखिममा पारेको छ । रोशी गाउँपालिका-११ स्थित भिमेश्वर माविको कम्पाउण्डमा क्षति भएको छ । सोही गाउँपालिका-५ स्थित भुमेस्थान माविको कक्षाकोठामा पानी पसेर भवन मुनिबाट पहिरो जानुका साथै भवन चर्किएको छ ।

रोशी गाउँपालिका-५ स्थित विद्याविकास आधारभुत विद्यालयको कक्षाकोठासहित विद्यालय परिसर पुरिएको छ । रोशी गाउँपालिका-१० स्थित महाभारत आधारभुत विद्यालयको भवनमा पहिरो खसेर एउटा कक्षाकोठा पुरेको र विद्यालय कम्पाउण्ड बगाएको छ ।

भुम्लु गाउँपालिका-३ स्थित भुसी देविस्थान आधारभुत विद्यालय प्राङ्गण, वडा नं ६ को कौशिक वैदिक गुरुकुलको भवनमा पहिरोले क्षति पुर्‍याएको छ । भुम्लु गाउँपालिका-१ स्थित कालिदेवी आधारभुत विद्यालयको भवनमा पहिरोले क्षति पुर्‍याएको छ ।

photo20241003kabhre (4)

बेथानचोक गाउँपालिका–२ ढुङखर्कस्थित पार्वती बहुमूखी क्याम्पस भवन पहिरोले जगसमेत खोतलेको छ । खेलमैदान र विद्यालयको शौचालय बाढी पहिरोका कारण लेदो र ग्राभेलले भरिएको छ ।

असोज १२ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा पार्वती माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत छात्र समिर शङ्करको मृत्यु पहिरोले पुरिएर भएको छ । बेथानचोक गाउँपालिकाको ज्ञानज्योति आधारभुत विद्यालयको एउटा ट्रस्ट भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । कालिका माविको दुई ओटा भवन र शौचालय बाढीले बगाएको छ ।

photo20241003kabhre (3)

सीता आधारभुत विद्यालयमा घेराबार बगाएको छ भने भूमिमाता माविको कम्पाउण्ड र  तीन ओटा कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । विद्यालयहरूका प्रशासकीय भवनमा बाढी पसी कागजपत्र कम्प्युटर–फर्निचर पुर्ण रुपमा नष्ट भएकाले लेदो र गेग्रेनहरू हटाउने काम सुरू भएकाले विद्यालयका पठनपाठन पुर्ण रुपमा ठप्प भएको छ ।

धुलिखेल नगरपालिका–९ मा रहेको दारिम्बोट बाल आधारभुत विद्यालयको दुई ओटा कोठामा क्षति भएको छ भने दुवै तर्फबाट गएको पहिरोले विद्यालय जोखिमपूर्ण अवस्थामा छ । बालमन्दिर आधारभुत विद्यालयको घेराबार बगेर दुई ओटा भवन पूर्ण जोखिममा छन् । विनायक बाल आधारभुत विद्यालयलाई पहिरोले पुरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवका ढकालले बाँकी स्थानीय तहबाट विवरण आउन बाँकी रहेको र पूर्ण विवरण प्राप्त भइनसकेको बताउनु भयो ।

photo20241003kabhre (2)

अन्य

भिडियो