२९ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका–१७ का २३ वर्षीय मनोज चौधरी र सोही ठाउँका ३० वर्षीय निर्मल चौधरीलाई जनही आठ/आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोख्रेलको असोज १६ गते इजालसले दुवै जनालाई दोषी ठहर गर्दै जनही आठ/आठ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र पीडित राहत कोषमा १ हजार ३ सय रुपियाँ भराउने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
मनोज र निर्मलले ०७९ फागुन २६ बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो । प्रहरीले आरोपितलाई फागुन २७ गते गिरफ्तार गरेको थियो ।