१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३० वर्षीय योगेश जोशीलाई ०८१ असोज १५ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश दिपेन्द्रनाथ योगीको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहत शुल्क भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी कमल घलेले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले २०८० माघ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको २०८१ वैशाख १७ गते बसेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० फागुन २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।