हिमाली जिल्ला डोल्पाका स्वास्थ्य संस्थामा डेढ महिनादेखि औषधि अभाव भएको छ । तल्लो डोल्पाका मुडकेचुला र जगदुला गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्र र उपल्लो डोल्पामा रहेका डोल्पो बुद्ध, छार्का ताङगसोग, शे फोक्सुण्डो र काइके गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा असोजको पहिलो हप्ताबाट अत्यावश्यक औषधिको अभाव भएको हो ।
उपल्लो डोल्पाका चार गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रमा पनि औषधि छैन । ती स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पनि जाडो छल्न तराई झरेकाले औषधिको अभाव त थियो नै स्वास्थ्यकर्मीको उपस्थिति समेत छैन ।
छार्का ताङगसोग गाउँपालिका-२ की पेमा छुइकी गुरुङ्ले भनिन्-“हाम्रो गाउँपालिकामा त स्वास्थ्यकर्मी नभएको धेरै भइसक्यो औषधिको कुरा त के भन्नु ?”
‘वर्षमा दुई पटक सरकारी अभियानको बेला भत्ता पाइने भएकाले भत्ता खान जसोतसो कर्मचारी आउँछन नत्र स्वास्थ्य केन्द्रमा कोही कर्मचारी देखिँदैनन् ।’- पेमाले भनिन् ।
उपल्लो डोल्पामा भौगोलिक विकटताका कारण औषधि अभाव भनिएपनि सदरमुकाम दुनै आसपास रहेका ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, जुफाल, माझफाल, लावन, शहरतारा, पहाडा र लिकु स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा पनि अत्यावश्यक औषधि र स्वास्थ्यकर्मी छैनन् ।
प्रत्येक वर्षऔषधि ढुवानीका लागि जिल्ला आउने ३५ लाख रुपियाँमा अनियमितता हुने र आवश्यक मात्राको औषधि जिल्ला पुग्ने नगरेको गुनासो कर्मचारीको छ । त्रिपुराकोट स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी भिमबहादुर उखेडा औषधि नभएको बताउँछन् । औषधिको माग फाराम भरेर जिल्लामा पठाइएको भएपनि जिल्लाले पर्याप्त औषधि छैन भन्दै सिटामोल जिङ्क ट्याब्लेट बाहेक अरू औषधि नपाइएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय डोल्पाका प्रमुख एवम् जिल्ला अस्पतालका डा. श्रीकान्त अग्रवालसँग कर्मचारीको अनुपस्थिति र औषधिको अभावबारे जिज्ञासा राख्दा औषधि अभाव प्रचारमा आएको जस्तो नभएको तर स्वास्थ्यकर्मी अनुपस्थित भएको बताए ।
उनले दसैँ र तिहार बिदामा घर गएका कर्मचारी मात्र आउन ढिला भएको र उनीहरूलाई छिटो भन्दा छिटो जिल्ला फर्कन निर्देशन दिइसकेको बताए । भौगोलिक विकटता र यातायातको समस्या जोडेर प्रायजसो स्थानीय र केही डोल्पा बाहिरका कर्मचारी लामो समय अनुपस्थित हुने पहिलेदेखि कै बानी रहेको भएपनि आफू डोल्पा आएदेखि भने नियमित गराउनेतर्फलागि परेको उनको दाबी छ ।