
नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेका दलित बस्तीका मानिसहरूले हिँड्डुल गर्न बाटो बन्द गरिदिएको घटनाको राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र इन्सेक, मुक्ति नेपालले संयूक्तरुपमा ०८१ असोज १४ गते अनुगमन गरेको छ ।
मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुध नारायण सहनी, दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, मानवअधिकार आयोगका अधिकृत दिपक ठाकुर, मुक्ति नेपालका जिल्ला संयोजक विशेश्वर दास लगायतका टोलीले असोज १४ गते घटनास्थल अनुगमन गरेको छ ।
पीडित उचित सदाले सोही गाउँपालिका-२ रामचलितर यादवको जग्गा हाम्रो टोल नजिक रहेको बताउनु भयो । हामी मजदुरी गरेर छाँक टार्छाै । रामचलितर यादवको खेतमा मजदुरी गर्दा ज्याला कम पाउँछौ तर अरुको खेतमा मजदुरी गर्दा बढी ज्याला पाउने गरेको उहाँले बताउनु भयो । यादव छिमेकी भएकोले कम ज्यालामा पनि काम गरेकै थियौं । तर, एक दिन अरुको खेतमा काम गर्न गएको निहुमा साबिक हिड्ने आलिको बाटोमा ०८१ असोज ६ गते यादवका छोराहरूले “हाम्रो खेतबाट हिडिस भने कुटपिट गर्ने भन्दै नानाथरीका गालि गलौज, धम्की दिदै साबिकदेखि हिड्ने बाटोमा काँडा र बाँसको लठ्ठीले बार लगाएको” सदाले बताउनु भयो ।
जग्गा धनी महेश यादवले भन्नुभयो-“यिनीहरूले हाम्रो खेतमा शौच गर्नुका साथै फोहर फ्याकी खेती गर्न अप्ठ्यारो बनाएको, हामीले दिएको ज्यालामा काम पनि नगर्ने र हाम्रै खेतमा फोहर पनि गर्ने गरेकोले आफ्नो खेत घेरबार गरेको हो” ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जनताको सुरक्षा गर्ने जिम्मेबारी स्थानीय सरकार र प्रशासनको भएको बताउनु भयो । आलि, बाटो लगायतका सार्वजनिक बाटोहरू कसैको सम्पति नभएकोले कसैलाई पनि स्वतन्त्ररुपमा हिड्डुल गर्नबाट रोक लगाउनु र दलित तथा गरिब भएकै कारण भेदभाव तथा थिचोमिचो गर्नु भनेको मानवअधिकारको हनन् गर्नु हो बताउनुहँदै इलाका प्रहरी कार्यालय नरहाका सइलाई तुरुन्त घेरबार हटाउन र पीडितहरूको शान्ति सुरक्षा गर्न उहाँले निर्देशन दिनुभयो ।
त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश प्रमुख सहनीले खेत व्यत्तिगत भए तापनि आलि तथा बाटोमा हिँड्न कसैले रोक लगाउन नपाउने बताउनु भयो । स्थानीय समुदायलाई आफनो सरसफाई तथा स्वास्थ्यलाई पनि ध्यानमा राखेर खुल्लामा शौच गर्नु भन्दा शौचालयको व्यवस्था गर्नुपर्ने र व्यवस्था गर्न नसक्नेले स्थानीय सरकारसँग सो को माग गर्नुको साथै सोही वडाका वडा अध्यक्ष अशोक महतोलाई सार्वजनिक शौचालयको व्यवस्था गर्न आग्रह गर्नु भयो । वडा अध्यक्ष महतोले यसै आर्थिक वर्षमा सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले कसैले पनि सार्वजनिक बाटोमा हिँड्डुल गर्नबाट रोक लगाउने गरी घेरबार गर्ने कार्य गर्न पाउदैन र यो कानुन विपरित कार्य भएको बताउनु भयो ।

यसैगरी, संयुक्त अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग भेटघाट गरी घटना बारे जानकारी लिनु भयो । भेटघाटको क्रममा एसपी पण्डितले जिल्ला प्रहरी कार्यालयमा पीडितहरू असोज १३ गते ठाडो उजुरी लिएर आउनु भएको थियो । जग्गा साँध सिमानाको घटना भएकोले न्यायीक समितिमा पठाएको र शान्ति सुरक्षाको लागि स्थानीय प्रहरीलाई निर्देशन दिएको बताउनु भयो ।

