सडक विस्तारका लागि जथाभावी रूख काट्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई रोक लगाएको छ ।
सडक विस्तारको नाममा रूख काट्न रतुवामाई नगरपालिकाको नाममा उच्च अदालत, विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत, विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोलाको ०८१ असोज ८ गतेको इजलासले रूख नकाट्न नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख ०८१ भदौ ३० गतेबाट काट्न सुरुआत गर्ने भनि भदौ २८ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
नगरपालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले अदालतमा रिट दायर गर्नु भएको थियो ।
सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई भनेको छ ।
रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई ०८१ असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।