१८ वर्षीया युवतीलाई बलात्कार गरेको सम्बन्धी मुद्दा मुतल्वीमा राख्ने जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको ०८१ असोज ८ गतेको इजलासले भारत स्थायी घर भएका ४० वर्षीय मोहम्मद ओसीम उद्दिन साहको मुद्दा मुल्तवीमा राख्ने आदेश दिएको हो ।
१८ वर्षीया युवतीलाई पटक-पटक र अन्तिम पटक ०७८ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ओसीम उद्दिन साहविरुद्ध ०७९ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ फागुन २२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडित युवती ०७९ जेठ ३० गते बेपत्ता भएपछि पीडितका बाबुले जेठ ३१ गते छोरीको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
खोजीका क्रममा ०७९ असार ४ गते युवतीलाई भारतबाट घर फर्काइएको थियो ।
पीडितले प्रहरीलाई दिएको बयान अनुसार आरोपित भारततर्फ भागेको र मुद्दा दर्ता भएको लामो समयसम्म आरोपित गिरफ्तार नभएपछि मुद्दा मुल्तवीमा राख्ने आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०७९ असार ६ गते गरिएको थियो ।