मेन्छयायेम गाउँपालिकाका पाँच जना अपाङ्गता भएर भएर हिँड्डुल गर्न नसक्ने व्यक्तिलाई घरघरमै पुगेर जिल्ला प्रशासन कार्यालयले अपाङ्गता परिचयपत्र प्रदान गरेको छ ।
अपाङ्गता हुनु भएकाहरूलाई र जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या हुनु भएकाहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईले बताउनु भयो ।
मेन्छयायेम गाउँपालिका-६ की १९ वर्षीया बालकुमारी थापा, २८ वर्षीया वर्षा नेपाली, मेन्छयायेम गाउँपालिका-५ की २७ वर्षीया प्रमिला खतिवडा, मेन्छयायेम गाउँपालिका-४ का २३ वर्षीया विमला लिम्बू र २८ वर्षीया सञ्जिता लिम्बूलाई नेपाली नागरिकताको प्रमाणपत्र घरमा पुगेर प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिलाई यसअघि पनि घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको र अब स्थानीय तहको सिफारिसमा अपाङ्गता परिचयपत्र प्रदान गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।
जिल्लामा ०८१ वैशाखयता १४ जना अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासनको कार्यालयको टोली घरमा पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो । नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले कार्यालय आउन नसक्ने अपाङ्गता भएका व्यक्तिलाई पहिचान गरी जनप्रतिनिधिको सिफारिसका आधारमा घरैमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।
अपाङ्गता हुनु भएकी प्रमिला खतिवडालाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै आएर नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र दिएपछि खुशी लागेको प्रमिलाकी आमा मन्दिरा खतिवडाले बताउनु भयो । अपाङ्गता परिचयपत्रसँगै सामाजिक सुरक्षा भत्ताका लागि सहज भएकाले राज्यले प्रदान गर्ने सुविधा छोरीले पाउने बताउनु भयो ।
छोरीलाई लिएर जिल्ला सदरमुकामसम्म पुग्न समस्या भएको अवस्थामा जिल्लाबाटै आएको टोलीले छोरीलाई अपाङ्गता परिचयपत्र दिएपछि धेरै खुशी लागेको मन्दिरा खतिवडाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र नभएकाहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र घरमै पुगेर दिँदा अपाङ्गता भएका व्यक्तिहरूलाई राज्य हुनुको अनुभूति हुने अपाङ्ग महासङ्घ कोशीका अध्यक्ष नवीन ढुङ्गेलको भनाइ छ ।


