INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि

जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण कक्षमा हाल मुस्किलले २५ देखि ३० प्रकारका औषधिमात्रै उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालहरुबाट ९२ तथा बर्थिङ सेन्टर सहितको सुविधा भएकोमा थप गरी ९६ प्रकारका औषधिहरु निःशुल्क वितरण गर्ने सरकारको नीति भएपनि अहिले कूल सङ्ख्याको हिसाबले हेर्दा झण्डै २५ प्रतिशत मात्रै औषधिहरु उपलब्ध छन् । निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिको अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले निःशुल्क वितरण गर्ने औषधि अस्पतालमा नपठाएकाले औषधि अभाव भएको अस्पताल प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अन्जु थापाले बताउनु भयो । ‘सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधिहरू हामीले टेण्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले पनि समयमा औषधि नपठाउँदा हामीलाई र बिरामीलाइ पनि निकै सास्ती भएको छ ।’-उहाँले भन्नु भयो ।

सरकारले ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा २५ देखि ३० प्रकारका औषधि मात्रै उपलब्ध हुने गरेको उहाँले बताउनु भयो । बिमाबाट पाउने केही औषधि भदौ १ गतेदेखि सरकारले निःशुल्क वितरणमा राखेपनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएको उहाँले बताउनु भयो ।

photo20240920myagdi

‘दीर्घरोगका बिरामीले सेवन गर्ने केही औषधि बिमाबाट लग्ने गर्नुभएको थियो । उक्त औषधि भदौ १ गतेदेखि निःशुल्क रुपमा वितरण गर्ने भनेर निःशुल्क पाउने सूचीमा समावेश गरिएको छ ।’-बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट थापाले भन्नु भयो । निःशुल्क वितरण गर्ने औषधि बिमाको सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनुले बिरामी समस्या परेका छन् । निःशुल्क औषधि पठाए पनि २-३ महिना मात्र म्याद भएको पठाउने गरेको उहाँले बताउनु भयो । कम म्याद भएको ओषधि पठाउँदा छिटै म्याद गुज्रने भएकाले पनि सास्ती भएको उहाँको भनाइ छ ।

औषधि पठाउन प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको बेनी अस्पतालको औषधि स्टोर प्रमुख समेत रहनु भएकी नर्सिङ अफिसर एवम् सूचना अधिकारी खेमकुमारी पन्तले बताउनु भयो । ‘निःशुल्क रुपमा वितरण गर्ने औषधि अस्पताल आफैँले खरिद गर्न नीतिगत अड्चन छ । हामीले प्रदेश सरकारसँग माग गर्ने हो । चालु आर्थिक वर्षको सुरुआतमै औषधि माग गरेका हौँ। अहिले सम्म प्राप्त भएको छैन । माग गरे अनुसार औषधि पनि प्राप्त हुँदैन । त्यसैले औषधिको अभाव सधैँजसो हुन्छ ।’-सूचना अधिकारी पन्तले भन्नु भयो ।

सरकारले निःशुल्क पठाउने औषधि मात्रै नभएर अस्पतालले आवश्यकता अनुसार खरिद गर्ने औषधि पनि सप्लायर्सले नदिँदा समयसमयमा अस्पतालमा औषधिको अभाव हुने गरेको छ । हालको अवस्थामा बेनी अस्पतालमा निःशुल्क औषधि उपलब्ध नहुँदा नियमित औषधि सेवन गर्नु पर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग लगायत नसर्ने रोगका बिरामीहरुलाई धेरै समस्या भएको छ ।

अहिले सिटामोल, जीवनजल समेत ५–१० ओटा आधारभुत औषधिबाहेक बेनी अस्पतालमा बाँकी औषधि कुनै न कुनै समय स्टक आउट हुने समस्या रहेको अस्पतालले जनाएको छ । उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खाने औषधि दुई महिना यता अस्पतालमा नआएको अस्पतालको फार्मेसी तथा सामाजिक सेवा इकाइका कर्मचारी बनिका पुनले बताउनु भयो ।

अस्पतालका अनुसार मधुमेहका बिरामीलाइ दिइने विभिन्न औषधिमध्ये ५ सय एमजीको मेटफरमीन बाहेक अर्को औषधि छैन । मेटफरमीन पनि ६ महिना अन्तरमा आउँछ । त्यस्तै, उच्च रक्तचाप र क्लोस्टोरलका बिरामीले नियमित खानु पर्ने एट्रोभास्टिनका सबै डोज पछिल्लो ९ महिनादेखि अस्पतालमा अभाव भएको छ ।

अन्य

भिडियो