भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ ।
सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ सङ्गठनको झडपपछि लगाइएको तालाका कारण विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प भएको हो ।
भदौ १३ गते कृषि सङ्काय परिसरको पुरुष छात्रावास क्षेत्रमा कांग्रेस र एमालेनिकट विद्यार्थीबिचको झडपपछि विश्वविद्यालयको शैक्षिक र प्रशासनिकलगायतका गतिविधि अवरुद्ध बनेको हो ।
तालाबन्दीका कारण विएससी एजीको भदौ २८ गते हुने भनिएको प्रवेश परीक्षा असोज ९ गतेलाई सारिएको छ । विश्वविद्यालयका परीक्षा शाखाका प्रमुख सहदेव चौधरीले भदौ १४ गतेबाट हुने भनिएको सातौँ, पाँचौ र तेस्रो समेस्टरको परीक्षा रोकिएको जानकारी दिनु भयो ।
विश्वविद्यालयकी रजिस्ट्रार शारदा थपलियाले विश्वविद्यालयमा दुई साताअघि भएको झडपपछिको तालाबन्दीबिच पठनपाठन र परीक्षा ठप्प भएको बताउनु भयो ।
विश्वविद्यालयले असहज परिस्थिति उत्पन्न भएको कारण देखाउँदै भदौ १५ गते कृषि, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान, वन विज्ञान सङ्काय र त्यस सङ्कायअन्तर्गत आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजमा सञ्चालित विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरेको थियो ।
झडपपछि दुवै सङ्गठनले एकअर्कालाई दोष दिँदै आएका छन् । घटना छानबिन गर्न विश्वविद्यालयले प्राध्यापक भूमिनन्द देवकोटाको संयोजकत्वमा समिति गठन गरेको छ । भदौ १५ गते समिति गठन भएको हो ।
उक्त समितिलाई दिइएको समय भदौ २५ गते सकिएकोमा पुनः एक हप्ता थपिएको र प्रतिवेदन लेख्ने काम भइरहेको संयोजक देवकोटाले बताउनु भयो ।