INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतबाट मृत्युको न्यायिक घोषणा, २२ वर्षपछि काजकिरिया

“पार्टी कामको लागि सुनसरी जिल्ला खनार गाविस गएको समयमा सुरक्षाफौज इटहरीले गिरफ्तार गरी बेपत्ता पारेको थियो । हसनदह गाविस १ निवासी नेकपा माओवादी कार्यकर्ता लक्ष्मी खतिवडा कामको सिलसिलामा सुनसरी जिल्लास्थित खनार गाविस गएको अवस्थामा ०५९ भदौ २५ इटहरीको सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता बनाए । पीडितको अवस्था हालसम्म अज्ञात छ ।”

यो इन्सेकको अभिलेखमा रहेको लक्ष्मी खतिवडाको विवरण हो । शस्त्रयुद्धमा बेपत्ता हुनु भएकी मोरङको साविक हसन्दह गाविस-१ हाल पथरीशनिश्चरे नगरपालिका-५ की लक्ष्मी खतिवडाको २२ वर्षपछि काजकिरिया गरिएको छ ।

Photo 20240911 Morang (3)
छोरीको मृत्यु संस्कार गर्नुहुँदै ८३ वर्षीय जनकलाल खतिवडा । फोटो सौजन्य- प्रेम खतिवडा

Photo 20240911 Morang (4)

२३ वर्षको उमेरमा ०५९ भदौ १७ गते  बेपत्ता हुनु भएकी लक्ष्मी खतिवडाका बारेमा  जिल्ला अदालत, मोरङले ०८० भदौ १७ गते मृत्युको न्यायिक घोषणा गरेपछि पीडित परिवारले ०८१ भदौ १७ गते कुशेऔँसीदेखि काजक्रिया गरिरहेको छ । कुशेऔँसीको दिन पारेर कुशको शव बनाइ स्थानीय पथरी खोलाघाटमा सद्गत गरेपछि बेपत्ता हुनु भएकी लक्ष्मीका ८३ वर्षीय बाबु जनकलाल खतिवडा र आमा रत्नमाया खतिवडा अहिले छोरीको हिन्दू मृत्यु संस्कार बमोजिम क्रिया बसिरहेको लक्ष्मीका भाई प्रेम खतिवडाले बताउनु भयो ।

जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको ०८० भदौ १७ गते इजलासले ‘वडाको सिफारिस, निवेदक जनकलाल खतिवडाको कागज र निवेदन, यसै अदालतका कर्मचारीबाट स्थलगत सर्जमिन मुचुल्कासमेतको आधारमा बेपत्ता भएका व्यक्ति फर्कि आए, जीवित रहेको प्रमाण भेटिए कानुन बमोजिम हुने नै हुँदा हाल मुलुकी देवानीसहिंता २०७४ को दफा ४० को उपदफा ४ बमोजिम लक्ष्मी खतिवडाको मृत्युको न्यायिक घोषणा गरिएको’ उल्लेख छ ।

photo 20240911 morang

अदालतले मृत्युको न्यायिक घोषणा गरेपछि लक्ष्मीका बाबुआमा काजकिरिया बस्नु भएको हो । बेपत्ता भएको २२ वर्षसम्म अवस्था पत्ता नलागेपछि लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै ०८० साउन १४ गते बाबु जनकलालले जिल्ला अदालत मोरङमा निवेदन दिनु भएको थियो  ।

जिल्ला अदालतका न्यायाधीश राजेश्वर आर्यालको ०८० भदौ १७ गतेको मृत्युको न्यायिक घोषणाको आदेशमा ‘वडाको सिफारिस, निवेदक जनकलाल खतिवडाको कागज र निवेदन, यसै अदालतका कर्मचारीबाट स्थलगत सर्जमिन मुचुल्कासमेतको आधारमा बेपत्ता भएका व्यक्ति फर्कि आए, जीवित रहेको प्रमाण भेटिए कानुन बमोजिम हुने नै हुँदा हाल मुलुकी देवानीसहिंता २०७४ को दफा ४० को उपदफा ४ बमोजिम लक्ष्मी खतिवडाको मृत्युको न्यायिक घोषणा गरिएको’ उल्लेख छ, जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले ०८१ भदौ २५ गते इन्सेककर्मीसँगको भेटमा भन्नुभयो ।

photo20240911Morang

मुलुकी देवानी संहिता २०७५ भदौ देखि लागू भएको र सहिंताको दफा ४० को ४ मा बेपत्ता व्यक्तिको मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधान छ । अदालतले लक्ष्मी पक्राउ परेको दिनलाई आधार मान्दै  ०८० भदौ १७ गते मृत्युको न्यायिक घोषणा गरिदिएको सूचना अधिकारी बुढाथोकीले बताउनु भयो ।

मुलुकी देवानी सहिंतामाविना सूचना १२ वर्षसम्म बेपत्ता भए मृत्यु भएको मानिने उल्लेख छ । ०५८ मङ्सिरमा भूमिगत हुनु भएकी लक्ष्मीलाई  ०५९ भदौ १७ गते राज्यपक्षले सुनसरीको खनारबाट पक्राउ गरेको थियो । त्यसपछि परिवारले लक्ष्मीलाई भेट्न पाएन ।

लक्ष्मीका भाइ प्रेमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा दिदी पक्राउ परेको १५ दिनपछि जानकारी पाएर सोधीखोजी गरेपनि ०८१ भदौ १७ गतेसम्म अवस्था अज्ञात भएपछि बाबुआमाले कुशेऔँसीदेखि काजक्रिया थालेको बताउनु भएको छ ।

लक्ष्मी बेपत्ता भएको भनि पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग र बेपत्ता छानविन आयोगमा समेत उजुरी दिएको थियो ।

अन्य

भिडियो